मनिपालको मनलाग्दी–६ करोड रुपैयाँ सरकारलाई तिरेन

प्रकाश ढकाल
पोखरा, बैशाख १३ ।
पोखरामा रहेको मनिपाल शिक्षण अस्पतालले सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन । एकीकृत सम्पत्ति कर र त्यसपछिको सम्पत्ति कर गरी करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको महानगरले जनाएको छ । हालसम्म ११ करोड ८० लाख रुपैयाँ तिर्नुपर्नेमा मनिपालले ५ करोड २८ लाख मात्रै तिरेको देखिएको छ । अझै ५ करोड ९२ लाख रुपैयाँ तिर्न बाँकी रहेको कर अधिकृत शिवहरी शर्माले जानकारी दिए ।

‘६ करोड जति तिर्न बाँकी छ । समयमा कर तिर्नुस् भनेर पत्र पनि पठाईसकेका छौं, उनले भने–तर अस्पतालले कुनै रेस्पोन्स गरेको छैन । अव एक्सनमै जानुपर्ने अवस्था पनि आउन सक्छ ।’ समयमै कर तिर्न उनको आग्रह छ । कर नबुझाउने मनिपाललाई महानगरले २०७० सालदेखि लगातार पत्र पठाईरहेको छ । हालसम्म १० वटा पत्र लेखिसकिएको तर कर बुझाउने कुरामा मनिपाल सकारात्मक नदेखिएको शर्माले बताए ।

‘पहिले घरजग्गा कर थियो । पछि एकीकृत सम्पत्ति करको रुपमा लिन थालियो । अहिले सम्पत्ति कर मात्रै लिन पाईन्छ, उनी भन्छन्–मनिपालले कर नतिरेको धेरै बर्ष भैसक्यो । न पत्रको जवाफ आउँछ । न कर बुझाएको छ ।’ उनका अनुसार अन्तिम पटक गएको पुस २६ गते कर बुझाउने आग्रह सहित पत्र पठाईएको थियो । यो पत्रको समेत हालसम्म कुनै प्रतिक्रिया नदिएको राजश्व शाखाले जनाएको छ ।

मनिपाल अस्पतालका डिन विएम नागपाल चाहीँ सरकारी जग्गाको सम्पत्ति कर तिर्न नसक्ने बताउँछन् । ‘हामीले हाम्रो सम्पत्तिको कर बुझाएका छौं । जग्गा नेपाल सरकारसँग लिजमा लिएको हो । त्यसको कर बुझाउन सक्दैनौं, उनले भने–अरु सम्पत्तिको कर यो बर्षको पनि बुझाईसकेका छौं । अरु बिषय बार्ताबाट सम्बोधन होला ।’ कर नतिर्ने कुरामा मेयर जिसी पनि सकारात्मक रहेको उनले सुनाए ।

मेयर मानबहादुर जिसी चाहीँ सरकारलाई तिर्नुपर्ने कर कुनैपनि अवस्थामा छुट नहुने बताउँछन् । ‘हामीले कर तिर भनेर ताकेता गरेको गरै छौं । उनीहरु तिर्न तयार छैनन्, जिसीले भने–सामान्य कुराकानी त भैरहेको छ । यो आर्थिक बर्ष हेर्छौं । नभए कानुनी प्रोसेसमा अघि बढ्नुको विकल्प छैन ।’

उपल्लो दीपको जग्गा नेपाली सेनासँग भाडामा लिएकोले त्यहाँको एकमुष्ट शुल्क नेपाल सरकारलाई बुझाएकोले यसको कर तिर्नुनपर्ने अस्पतालको अडान छ भने महानगर चाहीँ यो जग्गाको पनि कर तिर्नुपर्ने बताउँछ । चालू बर्षभित्र कर नबुझाए मुद्धा दायर गर्ने जिसीको भनाई छ ।

मनिपालले केही भवनहरुको सम्पन्न प्रमाण नभई सञ्चालन गरेको खुलेको छ । मुख्य विल्डिङ बाहेक केही भवनहरुको सम्पन्न प्रमाणपत्र नभएको महानगर श्रोतले जनाएको छ । ‘केही विल्डिङहरु सम्पन्नताको कुनै प्रमाण छैन । यसबाट महानगरलाई तिर्नुपर्ने कर समेत बर्षेनी नोक्सान भैरहेको छ, श्रोतले भन्यो–एकातिर कर नतिर्ने अर्कोतिर विल्डिङको सम्पन्न छैन । मनिपालले सरकारलाई हेपेको छ ।’

महानगरका मेयर मानबहादुर जिसी चाहीँ निर्माण सम्पन्न भैसकेका भवनहरुको सम्पन्न प्रमाणपत्र लिनका लागि अस्पताललाई परिपत्र गरिसकेको बताउँछन् । ‘महानगरको प्राविधिक टोलिले सम्पन्नको प्रमाण लिन आईज भनेको छ । होस्टेल लगायतका भवनहरु सम्पन्नको कागजपत्र नभएको सुनिएको छ, उनले भने–प्राविधिकले अध्ययन गरेर काम अघि बढ्ला ।’ पोखरा महानगरपालिकाभित्रका घर ४ बर्षभित्रै सम्पन्न गर्नुपर्ने प्राबधान छ । ४ बर्षभित्रमा काम नसकेपछि म्याद थपका लागि अस्पताल प्रशासनले निवेदन दिएको थियो । तर त्यो निवेदन अहिले महानगरपालिकामा भेटिँदैन ।

एमविविएस पढाईका लागि सन् १९९४ सालमा पोखरामा मनिपाल शिक्षण अस्पताल खोलिएको हो । यसका लागि १९९२ सालमै नेपाल सरकार र मनिपाल शिक्षा तथा चिकित्सा ग्रुपबीच समझदारी भएको थियो । काठमाण्डौं युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेज करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको छ भने सुरुमा ४० विलियन भारतीय रुपैयाँ लगानी भएको थियो ।

पोखराको फुलबारीमा रहेको मनिपाल शिक्षण अस्पताल पछिल्लो समय कर्मचारी ब्यवस्थापन र पढाईको विषयलाई लिएर पटक पटक विवादमा तानिन्छ । कलेजमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशबाट विद्यार्थीहरु अध्ययनका लागि बर्षेनी पोखरा आउँछन् । यो अस्पताल पश्चिम क्षेत्रकै ठूलो र सुविधासम्पन्न अस्पताल पनि हो ।