मनाङमा बाढी, ताल गाउँ डुवानमा

पोखरा, असार १ ।
मनसुन सक्रिय भएसँगै लगातार परेको वर्षाका कारण मनाङ तनावमा छ । विभिन्न गाउँहरु डुवानमा परेका छन् । घरहरु भत्किएका छन् । सन्चार र सडक सन्जाल सम्पर्कबाट बाहिर छन् ।

मनाङका सिडिओ विष्णुप्रसाद लामिछानेका अनुसार आधा दर्जन भन्दा बढी पुल बाढीले बगाएको छ । ताल गाउँका केही घरहरु डुवानमा परेका छन् । सबैजसो खोलाहरुमा बाढी आएको र मस्र्याङदी नदीको बहाव निकै उच्च भएको लामिछानेले बताए ।

‘मनाङका खोलाहरु बढेका छन् । चामे बजारका दुवै खोलामा ठूलो बाढी आएको छ । पुल बगाउँदा खोला तर्न सकिएको छैन,’ उनले भने, ‘अहिले उद्धारमा पनि कठिनाई भएको छ । तर सुरक्षा निकायलाई पूर्ण परिचालन गरिएको छ ।’

लामिछानेका अनुसार मानवीय क्षति अहिलेसम्म भएको छैन । तर केहि घरहरु बगेका छन् । प्रदेश सरकारले बाढी ग्रस्त क्षेत्रको उद्धारमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले झरी बढेको र यसले ठाउँठाउँमा क्षति पुगेको सूचना पाएपछि उद्धारमा जुट्न निर्देशन दिए ।