मनाङमा जीप दुर्घटना, विदेशी पर्यटकको मृत्यु

पोखरा, असोज २३ ।
मनाङको ताल गाउँ नजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको ज्यान गएको छ । अन्नपूर्ण पदमार्ग घुम्न पुगेका इजरायली नागरिक एवियाजर विरिडको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप मनाङको नासोङ गाँउपालिका अन्तर्गत ताल भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट लमजुङ ल्याउने तयारी भैरहेको ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरिक्षक मनहरी थापा क्षेत्रीले जानकारी दिए ।
जिपमा चालक सहित १२ जना यात्रा गर्दै थिए । घुम्तीमा टर्निङ नपुग्दा जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।