मनाङका सरकारी कार्यालयमा गण्डकी सरकारले दियो सोलार

पोखरा, असार १९ ।
मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत् सामान खरिद गरी पठाएको हो ।

करिब १९ लाख रुपैयाँको सामान खरिद गरेर हेलिकोप्टरमार्फत् चामे पठाउने व्यवस्था गरिएको छ । सामान ढुवानीका लागि लागेको ४ लाख ३१ हजार रुपैयाँ गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

मनसुनको सुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकता क्रम अनुसार सोलार सरकारी कार्यालयहरुलाई प्रदान गरिएको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो ।