मनकारी वडाध्यक्ष–जसले सरकारी सुविधाजति विद्यार्थीलाई बाँडे

पोखरा, बैशाख ११ ।
बढी सुविधा खोज्ने र सरकारी सम्पत्ति माथी कुदृष्टी लाएकै कारण अहिले जनप्रतिनिधिहरुले चौतर्फी रुपमा बदनामी बटुलिरहेका छन् । अख्तियारमा समेत जनप्रतिनिधिप्रतिको गुनासो र स्थानीय सरकारको उजुरी बढी परेको छ । तर केही वडाध्यक्षहरु यस्ता पनि छन्, जसले सरकारी सम्पत्ति दुरुपयोग त परैको कुरा, सरकारले दिएको सुविधा समेत समाजसेवामा खर्च गर्छन् ।

गोखराको शहीद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले आफुलाई राज्यले दिएको तलव भत्ताबाट वडाभित्रका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई कापी, कलम र ड्रेस सहयोग गरेका छन् ।

‘सरकारी स्कुलमा विद्यार्थीहरु पढ्न छोडिसके । अभिभावकहरु बच्चा चेपेर सदरमुकाम जान्छन् । गाउँका स्कुल सुनसान छन्, उनले भने–गुणस्तरीय शिक्षा र धेरै सुविधा दिएरै भएपनि विद्यार्थीलाई गाउँमै भुलाउनु छ । यसको सानो प्रयास मैले आाफैबाट थालेको हुँ ।’

उनले २ लाख ८८ हजार रुपैयाँले स्टेशनरी र ड्रेस किनेर विद्यार्थीलाई दिएका छन् । सरकारले दिने निशुल्क बाहेकका सबै पुस्तक किनेर दिएको उनले सुनाए । अध्यक्ष श्रेष्ठले शहीद लखन ७ को शहीद स्मृति माविमा ७० थान, लखन थापा आधारभूत विद्यालयमा ५३ थान, चण्डिका आधारभूत विद्यालयमा ६७ थान पुस्तक वितरण गरेका हुन् । त्यस्तै खाब्दी र मकैपुर प्राविका विद्यार्थीहरुलाई पनि आवश्यक पाठ्यपुस्तक वितरण गरेको उनले सुनाए ।

यसबाहेक उनले मिर्गौला रोगबाट पीडित नरबहादुर अधिकारी र दलबहादुर आलेलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका छन् । उनको वडामा अहिलेदेखि नै अंग्रेजी माध्यमको पढाई पनि सुरु भएको छ ।