मनकारी जोडी-सेवा आश्रामलाई साढे ३ लाख दान !

पोखरा, माघ २६ ।
स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ बिहिबार वैवाहिक बन्धनमा बाँधिएपछि आफ्ना नजिकका नातेदारबाहेक साथीभाइ, इष्टमित्रबाट प्राप्त रु तीन लाख ३७ हजार ६४० उक्त आश्रमका संयोजक रुपा केसीलाई उपलब्ध गराएका हुन् ।
केसीले विभिन्न मनकारीहरुको सहयोगमा आश्रमका असहायको पालनपोषण, संरक्षण स्वास्थ्योपचार चलिरहेको भन्दै यसरी सहयोग गरेकोमा गुरुङ परिवारलाई धन्यवाद दिए । सोनियाका बुबा हिमाल गुरुङले आश्रममा रहेका भाइ बहिनीले सडकमा बेवारिसे भएका अशक्त मनोरोगी बुबाआमालाई उद्धार गरी हेरचाह गर्नु महत्वपूर्ण कार्य भएकाले सहयोग गरिएको उनले बताए । छोरी ज्वाइँ आएका बेला आश्रमको भ्रमणसमेत गराएर वास्तविकता बुझाउने उनको योजना छ । चितवन आश्रममा सडकबाट ल्याइएका यस्ता असहाय तथा मनोरोगी ५० जना छन् ।–रासस