मनकामनामा निशुल्क स्वास्थ्य शिविर

गोरखा, भदौ २८ ।
ललितपुरको नेपाल क्यान्सर सहयोग समूहले गोरखाको मनकामनामा बृहत स्वास्थ्य शिविर गरेको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ३ मनकामना स्थित श्रृजनशिल महिला समूहको संयोजनमा निशुल्क रुपमा शिविर आयोजना गरिएको हो । महिलाहरुमा हुने स्वास्थ्य समस्यालाई लक्षित गरि कार्यक्रम राखिएको स्थानीय अगुवा तथा महिला नेतृ सर्मिला श्रेष्ठले जानकारी दिईन् । ‘धेरै महिला दिदिबहिनीहरुमा रोग लुकाउने चलन छ । कसैको चाहीँ महंगो उपचारका कारण पनि स्वास्थ्य विग्रिरहेको छ, उनले भनिन्–गाउँमै यति राम्रो शिविर आयो । महिलाहरुलाई ठूलो राहात भएको छ ।’ शिविरमा प्राविधिक सहयोग ललितपुरको हरिसिद्धी स्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरले गरेको थियो । सामाजिक उत्तरदायित्व पूरा गर्ने जिम्मेवारीले शिविरमा सघाएको संस्थाका ईञ्चार्ज शशांक शर्माले बताए ।
शिविरमा चार सय भन्दा बढी महिलाहरुले सेवा लिएका थिए । शिविरमा महिलामा हुने स्तन र पाठेघरको क्यान्सरबारे परीक्षण र औषधी बितरण गरिएको थियो । स्तन क्यान्सर बिशेषज्ञ डा. सचिन शाक्य, पाठेघर क्यान्सर बिशेषज्ञ डा. अनु बज्राचार्य र डाक्टर सुदिप सापकोटा सहित तालिम प्राप्त नर्सहरुको टोलीले परीक्षण, उपचार र आवश्यक सल्लाह दिएका थिए । महिला समूहकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । सोही अवसरमा मनकामना स्थित मनकामना माविमा पढ्ने ११ र १२ कक्षाका विद्यार्थीहरुलाई क्यान्सर रोगबारे सचेतना दिईएको थियो भने उपस्थित अन्य सर्वसाधारणले पनि रोगको कारण र उपचार बारे जानकारी लिएका थिए । कार्यक्रममा आर्थिक सहयोग गाउँपालिकाले गरेको थियो भने अपुग रकम महिला समूहको कोषबाट परिचालन गरिएको समूहकी अध्यक्ष श्रेष्ठले बताईन् ।