मतदान केन्द्रमा अझै पुगेनन् कर्मचारी

रौतहट, भदौ ३० ।
असोज २ गते हुने स्थानीय तह चुनावका लागि रौतहटका केही मतदान केन्द्रमा अझैपनि कर्मचारी पुगेका छैनन् । कर्मचारी शुक्रबारसम्म मतदान केन्द्रमा पुगेर मतदाता परिचयपत्र वितरण गर्ने भनिए पनि निर्वाचन कार्यालयले मतदान केन्द्रमा जाने कर्मचारीलाई निर्वाचन सामग्री र भत्ता नदिएका कारण ढिलाइ भएको हो ।
निर्वाचन कार्यालयले समयमा व्यवस्थापन गर्न नसक्दा मतदान केन्द्रमा खट्ने कर्मचारी पनि अन्यौलमा परेका छन् । ‘निर्वाचन कार्यालयको व्यवस्थान फितलो भयो’ मतदान अधिकृत दिनानाथ यादवले भने ‘यस्तो भद्रगोल मैले कहिल्यै देखेको थिइन ।’
निर्वाचन कार्यालयले निर्वाचन सामग्री र भत्ताको लागि बिहान आठ बजे बोलाए पनि अहिलेसम्म नदिएका कारण आफूहरु केन्द्रमा जान नसकेको कर्मचारीले बताएका छन् । कर्मचारी समयमा मतदान केन्द्रमा पुग्न नसक्दा मतदाता परिचय पत्र वितरण प्रभावित भएको छ । कर्मचारी मतदान केन्द्रमा नजाँदा मतदाता परिचय पत्र लिन गएका मतदाता अन्यौलमा परेका छन् ।
कर्मचारी शुक्रबार बिहान एकैपटक आएका कारण सामग्री र भत्ता वितरणमा समस्या भएकोले समयमा कर्मचारी केन्द्रमा पुग्न नसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले बताए ।