मगर संघ, कास्कीले ब्याडमिन्टन प्रतियोगिता गर्दै

 

पोखरा, पुस २५ ।

नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

यही पुस २६ गतेदेखि सुरु हुने प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं नेपाल मगर संघ, कास्कीका युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिनेश रोकामगरले जानकारी दिए ।

नेपाल मगर संघ, कास्कीको कभर्डहलमा हुने प्रतियोगितामा ३५ टिमको सहभागी हुने संयोजक रोकामगरले बताए । प्रतियोगिता युवा, प्रौढ तथा महिला गरी तीन किसिमले उमेर समूह तथा लैड्डिक रुपमा वर्गीकरण गरिएको प्रतियोगिता सह–संयोजक एवं संगठन विभाग प्रमुख भक्तबहादुर पुनमगरले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात गरी सञ्चालन गर्न लागिएको प्रतियोगिताका युवा तथा प्रौढतर्फ प्रथम र द्वितीय पुरस्कार क्रमशः ८ हजार र ५ हजार राखिएको उनले बताए । त्यस्तै, महिलातर्फ प्रथम र द्वितीय पुरस्कार ५ हजार र ३ हजार रुपैयाँ राखिएको सह–संयोजक पुनमगरले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन शनिबार गण्डकी प्रदेशसभाकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ ‘कुसुम’ले गर्नुहुने नेपाल मगर संघ, कास्कीका सचिव रामबहादुर थापामगरले जानकारी दिए ।