मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल र राउतबीच प्रतिस्पर्धा हुँदै, २७ जनाको लागि ५० जनाको उम्मेदवारी

हेटौडा, पौष १६ । मकवानपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि अध्यक्षमा दुईजनासहित ५० जनाको उम्मेदवारी परेको छ ।अध्यक्ष, बाणिज्य, उद्योग, वस्तुगत र एशोसियट उपाध्यक्ष तथा २२ जना कार्यसमिति सदस्यका लागि ५० जनाको उम्मेदवारी परेको हो ।आगामी तीन वर्षका लागि अध्यक्षमा कृष्ण कटुवाल र महेन्द्र राउतकाबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै बाणिज्यमा कृष्णकुमार गुप्ता अग्रवाल, कृष्णराम न्यौपाने र दीपकशर्मा ढकालको उम्मेदवारी परेको छ । उद्योगतर्फ माधव न्यौपाने, उज्वल शर्मा भण्डारी र रविन्द्र घिमिरेबीच प्रतिस्पर्धा हुँदै छ । एशोसियट उपाध्यक्षमा गणेशप्रसाद भेटवाल र उज्वल चौलागाईबीच चुनाव हुनेछ । वस्तुगत उपाध्यक्षमा रामप्रसाद न्यौपानेको एकमात्र उम्मेदवारी परेकोले निर्विरोध हुने भएको छ ।
यसैगरी वस्तुगतको दुईजना सदस्यका लागि सुनिल अधिकारी र राजु अधिकारीको, वाणिज्यतर्फ मनहरीक्षेत्रको आरक्षणमा कृष्णहरि बर्तौला,एशोसियटको बहुराष्ट्रिय कम्पनीतर्फ शान्तिराम धिमालको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिए । वाणिज्यतर्फ खुलामा सात सदस्यका लागि १४ जना, महिला आरक्षणमा दुईजनाको लागि तीजनाको, उद्योगतर्फ खुलामा चारजनाको लागि आठजनाको र उद्योगकै महिला आरक्षणमा एकजनाको लागि दुईजनाले उम्मेदवारी दिनुभएको छ । एशोसियटमा खुला तीजनाको लागि छ जना र एशोसियट हेटौँडा औद्योगिकक्षेत्रका लागि आरक्षित एकजना सदस्यमा दुईजनाको उम्मेदवार परेको छ । नयाँ नेतृत्वका लागि भोलि सोमबार निर्वाचन हुँदै छ ।