मकवानपुरमा प्रदेशसभामाभन्दा प्रतिनिधिसभा सदस्यमा बढी मत बदर

२८ मंसिर, हेटौडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा मकवानपुरमा प्रदेशसभामा भन्दा प्रतिनिधिसभा सदस्यको मत बढी बदर भएको छ । प्रतिनिधिसभाको दुई क्षेत्र रहेका यस जिल्लामा एकलाख ७० हजार ८५५ मतमा खसेकामा एकलाख ६२ हजार ३७१ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । खसेको मतमा आठहजार ४८४ अर्थात चार दशमलव ९७ प्रतिशत मत बदर भएको छ ।यस्तै प्रदेशसभा सदस्यको चारक्षेत्र रहेको यस जिल्लामा प्रदेशसभातर्फ एकलाख ७० हजार ६२५ मत खसेकोमा एकलाख ६४ हजार १९८ मतमात्र सदर भएको थियो । प्रदेशसभातर्फ खसेको मतमा ६ हजार ४२७ अर्थात तीन दशमलव ७७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभातर्फभन्दा प्रतिनिधिसभाका लागि खसेको कुल मतमा एक प्रतिशतभन्दा बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै प्रतिनिधि र प्रदेशसभाको समानुपातिक तर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा १५ हजार १ सय ५ मत बदर भएको छ । यसैगरि क्षेत्र नम्बर १ को प्रदेश क र ख मा ८ हजार ४ सय २४ तथा क्षेत्र नम्बर २ को प्रदेश क र ख मा ११ हजार ९ सय २२ मत बदर भएको निर्वाचन कार्यायलयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका निर्वाचन अधिकारी गोबिन्दप्रसाद पौडेलले मतदाता शिक्षा कमिकै कारणले मात्र मत बदर नभएको बताए । राजनितीक दलहरुले मतदातालाई फरक फरक मतदाता शिक्षा दिईनु तथा मतदाताहरुमै नैराश्यताको मनोभावले पनि निर्वाचनका समयमा अधिकांश मत बदर हुने गरेको उनको भनाई छ ।