मकवानपुरमा चुनावका लागि २३ सय सुरक्षाकर्मी

हेटौंडा, मंसिर १८ ।
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा २ हजार ३ सय ३४ जना प्रहरी र म्यादी परिचालित भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलिपराज झाका अनुसार जिल्लाका १ सय ६४ मतदान स्थलमा १ हजार ३ सय २८ जना म्यादी र १ हजार ६ जना प्रहरी आजबाट हतियारसहित खटाईएको हो ।
यस्तै निर्वाचनअवधिभर हुनसक्ने संभावित घटना हुन नदिन आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा रहेको पनि झाले जानकारी दिए । उनका अनुसार कुनै ठाउँमा घटना भए आवश्यक सुरक्षाकर्मी पनि परिचालन हुनेछन् । जिल्लाका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभाका चुनावी क्षेत्र छन् ।