मकवानपुरका सबै केन्द्रमा पुगे कर्मचारी

हेटौंडा, मंसिर १८ ।
दोश्रो चरणको निर्वाचन अन्तर्गत मकवानपुरका सबै निर्वाचन केन्द्रमा मतदानका लागि कर्मचारी खटिएका छन् । मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि सुरक्षाबाहेक २ हजार ५ सय ९३ जना कर्मचारीहरु खटिएको जिल्ला निर्वाचन अधिकारी गोबिन्दप्रसाद पौडेलले जानकारी दिए ।
मंगलबार र बुधबार दुईदिन मतदाता परिचयपत्र वितरण गर्ने समय तोकिएकाले मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीहरु मतदान सामाग्रीसहित सम्बन्धित केन्द्रमा पुगिसकेका उनले बताए ।
पौडेलका अनुसार मतदान केन्द्र टाढा भएका कर्मचारीहरु आजै बेलुकसम्म र मतदान केन्द्र नजिकका कर्मचारी भोली बिहानै पुग्नेछन् । मकवानपुरमा १ सय ६४ मतदानस्थल र ३ सय २४ मतदान केन्द्र रहेका छन् । हरेक मतदान स्थलमा ६ देखि ७ जना कर्मचारीहरु खटिनेछन् ।
जिल्लाका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताहरुले ३ सय २४ मतदान केन्द्रबाट मतदान गर्ने छन् । स्थानिय तहको चुनावमा भन्दा २७ हजार ८ सय ४५ जना मतदाता थपीएका छन् । त्यसकै आधारमा २९ वटा मतदान केन्द्र समेत थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।