भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ११ स्थानमाथि उक्लियो, तर भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै

 

काठमाडौं, माघ ९ ।

नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लिएको छ । यद्यपि, भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ । विश्व बैङ्कसहित वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १०० मा ३४ अङ्क पाएको छ ।

अघिल्लो वर्ष २०१८ मा नेपाल ३१ अंकसहित १२४ औं स्थानमा थियो ।

नेपालले भ्रष्टाचारको सूचकांकमा केही सुधार गरे पनि सबै भन्दा बढी भ्रष्टाचार हुने २० मुलुकभित्र परेको छ ।

१ सय ८० देशमध्ये ९ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अंकित भएको छ । त्यसैगरी ८९ अंक प्राप्त गरी डेनमार्क सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ । भ्रष्टाचार अवधारणा सूचकांङ्कमा १ सय अंकले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताए ।

खासगरी नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचारमा न्यून रुपमा नै भए पनि सुधार आएको रिपोर्टले देखाएको छ । अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि उच्च ओहोदाकाले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता लगायत रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले जनशक्ति भर्ना गर्दा हुने आर्थिक अनियमिततालाई कमी गर्न आन्तरिक रुपमा गरिएको कारवाही, भ्रष्टाचार भएको रकम असुली लगायत कार्यहरु भ्रष्टाचार नियन्त्रणको सन्र्दभमा सकारात्मक कदम भएको निष्कर्ष निकाल्न सकिने बताए ।

स्थानीय तहमा हुने खर्चमा पारदर्शिता नदेखिए पनि सेवाग्राहीले पाएको सेवालाई आधार बनाउँदा तत्काल त्यसको प्रभाव नदेखिएको उनको भनाइ छ ।

रिपोर्ट सार्वजनिक गर्दे ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारलाई शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, निर्णय प्रक्रियामा सरोकारवालाहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीति प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

‘प्रतिवेदनले नेपालको भ्रष्टाचार बारेको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिए पनि नेपालले पाएको अङ्कमा धेरै कम अङ्कको फेरबदलले अवस्थामा परिवर्तन भएको भन्न नमिल्ने देखिन्छ तर स्थानीय तह आएदेखि भ्रष्टाचार बढ्ने खतरा उत्तिकै छ’ उनले भने ।

सिपीआई रिपोर्टले विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार विरोधी प्रयासमा शिथिलता रहेको देखाएको छ । पैसाले राजनीतिलाई प्रभावित गरेका मुलुकहरुमा भ्रष्टाचार व्याप्त रहेको तथ्यांकले देखाएको छ ।

सीपीआई २०१९ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अर्थात औसत ४३ अंक पाएका छन् । २२ देशले भ्रष्टाचारको सूचकांकमा सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ ।

दक्षिण एसियाली मुलुकमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औं स्थानमा, भारत ४१ अङ्क प्राप्त गरी ८० औं स्थानमा, मालदिभ्स र श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३ औं स्थानमा, पाकिस्तान ३२ अङ्कले १२० औं स्थानमा, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औं स्थानमा र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३ औं स्थानमा रहेका छन् ।

छिमेकी मुलुक चीन ४१ अङ्क प्राप्त गरी ८० औं स्थानमा रहेको छ ।

प्रतिवेदन विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो ।
(अनलाइनखबरबाट साभार)