भ्रमण वर्ष सचिवालय र एनआरएनएबीच सातबुँदे समझदारी

 

काठमाडौं, कार्तिक ३ ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ ।

आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तबीच विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको हो । सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को उदघाटन १ जनवरीमा काठमाडौंमा हुने छ । भ्रमण वर्ष नजिकिएका बेला सचिवालयले प्रचारात्मक कार्यक्रमका लागि एनआरएनएसँग सात बुँदे समझदारी गरेको हो ।

‘नेपालमा बिदा मनाऔं’ अभियान सञ्चालन गर्ने

समझदारीअनुसार संघले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ । संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह गर्ने छ ।

संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एण्ड फ्रेन्डस्’ अर्थात् ‘परिवार र साथीहरुसँग नेपालमा विदा मनाऔं’ अभियान सञ्चालन गर्ने छ ।

संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्तिसमेत उपलब्ध गराउने छ । नेपाल भ्रमण वर्षको प्रचारका लागि संघले विश्वका प्रमुख शहरहरुमा कार तथा साइकर्ल याली गर्ने छ । यस्तो प्रचारात्मक कार्यक्रमको लागि संघले नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गर्नुपर्ने छ ।

संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघ संस्थामा आबद्ध नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात् व्यावसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्ने छ ।

गैर आवासीय नेपालीका विश्वभर रहेका व्यवसायिक फर्महरु तथा होटल रेष्टुरेन्टहरुमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचारका सामग्रीहरु वितरण गर्ने समझदारी पनि भएको छ । साथै विश्वभर छरिएर रहेका सम्पूर्ण सदस्यलगायत नेपाली तथा विदेशी मित्रहरुको सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँस्ने व्यवस्था मिलाउने समझदारी पनि भएको छ ।
(अनलाइनखबरबाट साभार)