भ्रमण वर्षलाई स्वागत गर्न गुफा क्षेत्रमा विविध कार्यक्रम गरिने

 

पोखरा, पुस १० ।

नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी महेन्द्र गुफा तथा चमेरे गुफामा विविध कार्यक्रम गरिने भएको छ ।

गुफा हेर्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२० को प्रचार र स्वागत स्वरुप पुस १६ गते विहान देखि नै प्रभातफेरीसहित विविध सांस्कृतिक कार्यक्रम गरिने संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए ।

विन्ध्यवासिनी मा.वि, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजना र वडा कार्यालय पोखरा १६ को समन्वयमा सरसफाई, प्रभातफेरी सहित विविध सांस्कृतिक कार्यक्रमसमेत हुन लागेको छ । पुस १६ गते विहान महेन्द्र गुफा र चमेरे गुफामा प्रवेश गर्ने पर्यटकलाई स्वागत सहित सम्मान गरिने र त्यसपछि विभिन्न जनजातिको झाँकी सहित सारङ्गी र पञ्चेवाजा वजाएर विभिन्न स्थानमा परिक्रमा गरिने गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष गोविन्दवहादुर वस्नेतले वताउनुभयो ।

प्रभातफेरीमा त्यस क्षेत्रमा वसोवास गर्ने विभिन्न समुदायले आ–आफ्नो भेषभुषा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने, महेन्द्र गुफा र चमेरे गुफामा दिनभर नै सारङ्गी र पञ्चेबाजा बजाएर पर्यटकलाई स्वागत गर्ने तयारी भैरहेको छ ।

उक्त दिन के.आई सिंह पुल देखि नै स्थानियले घर अगाडी फुलको घडा राखी पर्यटकलाई स्वागत गरिने जनाईएको छ ।

कार्यक्रमको तयारी स्वरुप अहिले गुफा क्षेत्रमा ध्वजापतका टाँस्ने, रङ रोगन गरेर सिंगार्ने तथा विभिन्न सन्देश लेखिएका फ्लेक्स टाँस्ने कार्य भैरहेको छ । भ्रमण वर्षकै पुर्वसन्ध्यामा वडा भित्रका संघ संस्थाको समन्वयमा पुस १२ गते वृहत सरसफाई गरिने समितिले जनाएको छ । महेन्द्र गुफा देखि शुरु हुने सरसफाई कार्यक्रम के.आई सिंहपुलमा पुगेर समापन गरिने बताईएको छ ।

भ्रमण वर्षलाई स्वागत गर्न गुफा क्षेत्रमा विविध कार्यक्रम गरिने

 

भ्रमण वर्षलाई केन्द्रित गरी वडा कार्यालयले सुचना मुलक डिजीटल वोर्ड राख्ने तयारी समेत गरेको छ । पुस १६ गते अग्रेजी नयाँ वर्ष पनि परेकाले उक्त दिन पर्यटकको चाप वढ्ने अनुमान समितिले गरेको छ ।