भोटे कुकुर संरक्षण गर्दै अन्नपूर्ण गाउँपालिका, एबीसीका होटलमा कोठा थपिने

पोखरा, असार ४ ।
पर्यटन, कृषि र पूर्वाधारलाई जोड दिँदै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रश्तुत गरेको छ । गाउँपालिकाले आगामी बर्ष पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविरमा रहेका होटलहरुमा कोठा थप गर्ने भएको छ । पर्याप्त कोठाहरु नहुँदा आधार शिविर पुगेका पर्यटकलाई असुविधा भएको थियो । नीति तथा कार्यक्रम प्रश्तुत गर्दै पर्यटकको बसाई लम्ब्याउन एवीसीका होटलमा कोठा थप्ने निर्णय गरेको अध्यक्ष यूवराज कुवँरले जानकारी दिए ।

‘प्रदेश सरकारले २०१९ लाई आन्तरिक पर्यटन भ्रमण बर्ष, २०२० लाई छिमेकी मुलुक आकर्षण बर्ष र सन् २०२२ लाई अन्तराष्ट्रिय पर्यटन बर्षको रुपमा मनाउने घोषणा गरिसकेको छ । अन्नपूर्ण गाउँपालिका त्यसलाई स्वागत गर्दै आवश्यक संरचना विस्तारमा लागिरहेको छ,’ उनले भने, ‘यो बर्ष लज तथा रेष्टुरेण्टहरुमा निश्चित कोठा थप गरिनेछ । घान्द्रुकबाट प्याराग्लाईडिङ सुरु गरिनेछ ।’ पर्यापर्यटनलाई जोगाउनका लागि छोम्रोङ भन्दा माथिल्लो क्षेत्रलाई भर्जिन (कुमारी) क्षेत्र घोषणा गरिएको छ । यो क्षेत्रमा मेसिनरी औजार प्रयोग नगर्ने र आपतकालिन बाहेक हेलि उडान रोकिने अध्यक्ष कुवँरले बताए । गाउँपालिका छिरेका पर्यटकको तथ्यांक संकलन गर्न बीरेठाँटी र पोथनामा सूचना केन्द्र सञ्चालन गर्ने र प्रति पर्यटक १ सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

यस्तै, गाउँपालिकाले स्थानीय जातका भोटेकुकुर संरक्षण अभियान थाल्ने नीति लिएको छ । ‘राष्ट्रिय र अन्तराष्ट्रिय रुप्मा स्वर र सुरक्षा पहिचानका कारण लोकप्रिय स्थानीय भोटेकुकुर को लगत अध्यावधिक गरि तिनिहरुको संरक्षण गरिने छ,’ नीति कार्यक्रममा भनिएको छ । गाउँपालिका क्षेत्रभित्रका सबै होटलमा कोदोको परिकार अनिवार्य गरिएको छ ।

‘पालिकालाई कोदोमा आत्मनिर्भर बनाउन कोदोखेती गर्ने किसानलाई अनुदान दिईने छ । सबै होटल तथा रेष्टुरेण्टमा कोदोको परिकार मेन्युमा राख्न अनिवार्य गरिने छ । कोदो प्रबद्र्धनका लागि कोदो महोत्सव आयोजना गरिने छ,’ उनले भने । गाउँपालिकाले माटो परीक्षण गरि माटो सुहाउने खेती प्रणालीको विकास गर्ने, कृषि यन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदान दिने र एकघर एक फलफूल तथा उक विद्यार्थी एक फलफूल कार्यक्रम अभियानकै रुपमा निरन्तर सञ्चालन गर्ने जनाएको छ । जमिन बाँझो राख्ने किसानलाई कृषि सुविधाबाट बञ्चित गर्ने र बाँझोखेतको प्रयोग बढाउन भूमी बैंक बनाउने, गाउँपालिकाले नै २० बर्षका लागि जमिन लिजमा लिएर ब्यवसायिक खेती गर्ने किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।

गाउँपालिकाभित्र रहेका सबै घरका कम्तिमा एकजनालाई आवश्यक्ता र समयानुकुल तालिम दिने, रोजगारी सिर्जना गर्न सबै वडामा अध्यक्षसँग रोजगार कार्यक्रम सञ्चालन गर्ने र हाउस वायरिङ तथा प्लम्बिङ तालिम दिएर कम्तिमा १ सय जनालाई स्वरोजगार प्रदान गर्ने अध्यक्ष कुवँरले जानकारी दिए । आगामी बर्ष गाउँपालिकाभरी नयाँ सडक ट्रयाक नखोल्ने निर्णय गरिएको छ ।

भैरहेका सडकलाई स्तरोन्नती गरि बाह्रै महिना चल्न सक्ने बनाउने र क, ख र ग श्रेणीका सडकलाई प्राथमिकताका साथ स्तरोन्नती गर्ने, सडक सुरक्षाका लागि हेरचाह र सरसफाईकर्मी नियुक्त गर्ने, प्रत्येक घरमा खानेपानी धारा पु¥याउने लगायतका नीति गाउँपालिकाले अवलम्बन गरेको छ ।