भोटरले नयाँ टेष्ट खोजेका छन्–विन्दुकुमार थापा

पोखरा, कार्तिक २३ ।
नेपाली काँग्रेस कास्की क्षेत्र न २ ले चुनावी प्रचार शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ बाट घरदैलो अभियान गर्दै चुनावी प्रचार थालेका हुन् ।
बजार क्षेत्रका पसलदेखि सामाजिक प्रतिष्ठान एवं घर घरमा पुगेर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज चालिसे, २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार गुरु बराल र २(ख)का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले वडा नं ४ गैह्रपाटनमा सभालाई सम्बोधनपछि घरदैलो अभियान शुरु गरेका थिए ।
“पुरानालाई दुई पटक हे¥यौं अब नयाँलाई हेर्ने छौं ”– घरदैलो अभियानकै क्रममा ८४ वर्षिय गणेशबहादुर गुरुङले भने–“चुनावमा अब नयाँ टेष्ट पनि लिनुपर्छ । पुरानो टेष्ट पुरानै भईसक्यो ।” घरदैलो अभियानमा आम सर्वसाधारणको उत्साहले उम्मेदवारलाई उर्जा थपिएको छ ।
“जनताले नयाँ उम्मेदवारबाट विकासको अनुभूति हुने अपेक्षा गरेका छन ।” घरदैलोको क्रममा जनताले सुनाएको भन्दै प्रतिनिधि सभा २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले भने–“न्युट्रल भोटले नयाँ टेष्ट खोजिरहेको आभाष भएको छ ।”
व्यापारीक घरानाले, अग्रज व्यवासयीले साथ, र सहयोग रहेको भन्दै उम्मेदवार थापाले उहाँहरुको साथ र सहयोग शिरोपर गर्दै अगाडि बढ्ने बताए । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका थापाले जनतामा देखिएको उत्साह, हार्दिकताले काँग्रेसका जित सुनिश्चित हुने दावी गरे । घरदैलो अभियानकै क्रममा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले जनताले काँग्रेसबाट धेरै आशा गरेको भन्दै काँग्रेसलाई जिताउन स्वयं जनता नै सक्रिय हुदैं घरदैलो अभियानमा जुटिरहेको बताए ।