भेट्रान कप उपाधी काठमाडौंलाई

पोखरा, चैत १ ।
पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित चौँथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मिया सान मियाले डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुरलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि सँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता टि वर्गरले नगद ५५ हजार ५ सय ५५ का साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दुवै टिमबाट सहभागी रहेका पूर्व राष्ट्रिय खेलाडीहरुको खेलमा पहिलो गोलको खाता खेलकौ १६ औै मिनेटमा मिया सान मियाकाको तर्फबाट नविन पाण्डेले गोलको खाता खोलेका थिए ।

निर्धारित २५–२५ मिनेटको खेलमा नविन न्यौपानेले टिमका लागि २० औं मिनेटमा दोश्रो गोल थप्दा टि वर्गर करिव–करिव उपाधि होडबाट वाहिरिन पुगेको थियो । नविन न्यौपानेले नै खेलको दोश्रो हाफको ३४ औं मिनेटमा मिया सान मियाले टिमका लागि तेश्रो गोल थपे । न्यौपाने फाइनल खेलको म्यान अफ दि म्याच समेत भएका थिए ।

यता ३–० ले पछि परेको टि वर्गरलाई खेलमा फर्काउने प्रयास गर्दै नरेन्द्र लिम्वुले एक गोल फर्काए पनि उपाधिका लागि त्यो पुरा हुन सकेन । खेलको दोश्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा नविन पाण्डेले टिमको लागि चौथो गोल गर्दै उपाधि पक्का गरेका थिए । फागुन २४ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा टि वर्गरका नरेन्द्र लिम्वु उत्कृष्ट खेलाडी हुँदै नगद १० हजारका साथमा ट्रफी हात पारेका छन ।

यसै गरी अन्य विद्यामा उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोल रक्षकमा मिया सान मियाका सञ्जिव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका नविन न्यौपाने, उत्कृष्ट डिफेण्डरमा टि वर्गरका नरेश थापा भएका छन । उत्कृष्ट हुने सवै विद्यागत खेलाडीले नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

उपाधि विजेता र उपविजेताले दिए जितेको रकम कल्याणकारी कार्यलाई
चौंथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उपाधि विजेता मिया सान मिया र उपविजेता टि वर्गरले जितेको रकम कल्याणकारी कामको लागि हस्तान्तरण गरेका छन ।

मिया सान मियाले आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेकी क्यान्सर पिडित आमाको उपचारका लागि हस्तान्तरण गरेको छ । टिमका कप्तान समेत रहेका नविन पाण्डेले उक्त रकम सहकर्मी न्यौपानेलाई समापन समारोहमा हस्तान्तरण गरेका थिए ।