भुपु अध्यक्षहरु नै ग्रुपिजम गर्न लागे–उदास

पोखरा, असोज ३ ।
बसन्त उदास, पोखरा उद्योग बाणिज्य संघका भुतपुर्व अध्यक्ष हुन् । सम्भवतः सबैभन्दा लामो समय पदाधिकारीमा बसेर नेतृत्व सम्हालेका उनले सबैजसो पदहरुमा अनुभव संगाले । अहिले पनि उनी भन्छन्–‘तल्ला पदमा बसेर कामको अनुभव नभएको मान्छेले नेतृत्वमा पुगेपनि काम गर्न सक्दैन र उल्टै पद र संस्थाको गरिमा घटाउँछ ।’ अनुभव सामान्य बिषय नभएको भन्दै उनले संस्थाको भविष्य नै ब्यक्ति र नेतृत्वको अनुभवमा आश्रित हुने बताए । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेसनको सन्दर्भमा डिएनए नेपाल डटकमका सम्पादक प्रकाश ढकालले उदाससँग कुराकानी गरेका छन् । प्रश्तुत छ सोही कुराकानीमा आधारित बिषयबस्तु–

हरेक २ बर्षमा संघको विधान अनुसार निर्वाचन हुने गरेको छ । निर्वाचन एउटा प्रक्रिया हो, निर्वाचित हुनु स्वभाविक कुरा हो र नियमित प्रक्रिया पनि हो । जुन यसपालि ३२ औं महाधिवेशनको निर्वाचन हुन गैरहेको छ, यो विगत भन्दा पृथक महसुश गर्नुपर्ने अवस्था आएको छ । चुनावमा प्रतिश्पर्धा हुनु प्राकृतिक कुरा हो । सकेसम्म उद्योगी ब्यवसायीको हक हितको लागि स्थापना भएको संस्थामा प्रतिश्पर्धा नहुँदा राम्रो तर विगतमा पनि प्रतिश्पर्धा धेरै भएका छन् । त्यो प्रतिश्पर्धा ब्यक्तिको प्रतिश्पर्धा थियो । ब्यक्तित्वको टकराव थियो । तर उद्योग बाणिज्य संघको निमित्त र उद्यमी ब्यवसायीको निमित्त थियो । मतदाताले उपयोगिताको सिद्धान्तलाई अंगिकार चयन गर्थे । अध्यक्षबीचमा मात्रै प्रतिश्पर्धा हुन्थ्यो, प्यानल लिएर हिड्दैनथे र सदस्यहरु आफ्नै प्रचार गरेर चुनावमा सहभागी हुन्थे । तर ३१ औं महाधिवेशन पछि यस्तो विजारोपण भयो कि दुईवटाको पूरै टीम अलगअलग प्रतिश्पर्धा गर्ने र जित्नेले हार्नेलाई मतलव नगर्ने र हार्नेहरु पनि कहिल्यै पाइला टेक्न नजाने चलन छ । उद्योग बाणिज्य संघ भनेको ब्यवसायीको निमित्त त जहिलेपनि ढोको खुला छ नि । तर जिते मात्रै उद्योग बाणिज्य संघ चाहिने नत्र नचाहिने भन्ने कुरा हुँदैन । पराजीत भएका ब्यक्तिसँग पनि त्यो हेक्का हुनुपर्छ ।

म त के भन्छु भने म उम्मेदवार हुन्छु भनेर जुन दिन निर्णय गर्छ त्यही दिन पराजय पनि हुन्छ भनेर स्विकार गर्नुपर्छ । यदी त्यो पराजय स्विकार गर्न नसक्ने भए त्यो मान्छेले उम्मेदवारी दिनै हुँदैन । प्रतिश्पर्धा भनेको कसैलाई पराजीत गर्न नभई आफ्ना लागि परिस्कृत र परिमार्जीत गर्नका लागि हो । र अहिले जुन चर्चामा आएको कुरा छ, केही भुपु अध्यक्षले नै ग्रुपिजमका लागि मलजल गरेको छ भन्ने सुनिन्छ । हामी केही भुपु अध्यक्षले मिलाउने प्रयास गरेका हौं । त्यसमा सहमति पनि भैसकेको थियो । तर एकजना भुपु अध्यक्षले यो हुन्छ, त्यो हुँदैन भनेर आउनुभयो ।

एउटा त भुपु अध्यक्ष भएर आफ्नो मर्यादा राख्न सक्नुपर्छ । भुपु अध्यक्ष त संस्थाको हो नि ब्यक्तिको हैन नि । पोखरा उद्योग बाणिज्य संघको नेतृत्व लिईसकेको ब्यक्तिले त्यसको प्रतिष्ठा कायम राख्नुपर्छ । यसरी नमिलेको कुरालाई त मिलाउनुपर्छ भने मिल्न लागेको कुरा पनि नमिलाउन उन्मुख हुनु उद्योग बाणिज्य संघको हित विपरित हो । यो राम्रो कुरा चाहीँ हैन । र अहिले छरपष्ट रुपमा के भयो भने, गएको चुनावमा पनि काँग्रेस कम्युनिष्टको छवी आएको हो । काँग्रेसको कोषाध्यक्षलाई विना ब्याकग्राउण्ड महासचिवमा लडायो । अहिले पनि राजनीति हावी भैरहेको छ । भोलि काँग्रेसले जिते रुखको झण्डा ल्याएर राख्ने र कम्युनिष्टले जिते हसियाँ हथौडाको झण्डा ल्याएर राख्छन् भन्ने कुरा पनि बजारमा सुनिछ ।

अव यसरी चुनावमा आईडोलोजिकल रुपमा मतदाताले भोट हालिदियो भने त एकलौटी हुने भयो । यसले संघप्रति मान्छेको उदासिनता बढी हुन्छ । एउटा पक्षले त्यहाँ पाईलै टेक्न नजाने भैदियो भने एकलौटी भैदियो भने अहिलेसम्मको संघले प्रतिष्थापन गरेको मुल्य मान्यता र ईज्जत धरासायी हुन्छ । पोखरा उद्योग बाणिज्य संघ नेपालको उत्कृष्ट र दरिलो संस्था हो । पश्चिमाञ्चल क्षेत्रमा सबैलाई समेटेर नेतृत्व गरेको संथा पनि हो । पोखरा उद्योग बाणिज्य संघको पदाधिकारी कहीँ जाँदाखेरी मान, मर्यादा, ईज्जत राम्रो थियो । तर केही बर्षयता सबैले गुनासो गर्छ–नेतृत्व फितलो भयो र हिजो जसरी काम गरेको थियो त्यसरी काम हुन सकेन । यो अलिकति संघप्रतिको आस्था निष्ठामा प्रश्न आउन थाल्यो । यस्तै किसिमको चुनावले भोलि माहोल यस्तै बन्दै गयो भने झन्झन् यसको गरिमा तल झर्दै पो जाने हो कि भन्ने चिन्ता मतदातालाई मात्रै होईन, बाहिरका मान्छेलाई पनि छ । यो जेठो संस्था हो । यसले धेरै सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक क्षेत्रमा भुमिका निर्वाह गरिरहेको थियो । त्यसैको जगमा उद्यमी ब्यवसायीका लागि मात्रै हैन, पोखराको विभिन्न क्षेत्रमा यसले गरेको योगदान सबैले सम्झिरहेका छन् ।

त्यसैको जगमा अरुलाई मुल्य मान्यता जुन किसिमको राखेको थियो, त्यसैको ईज्जत हो । तर आज त्यो कुरा रहेन भने र पोखरा उद्योग बाणिज्य संघको ईज्जत नै रहेन भने मतदाताको पनि कहाँ रहन्छ इज्जत ? मलाई के लाग्छ भने अप्रत्यक्ष रुपमा पार्टीले जुन हस्तक्षेप गरिरहेका छन्, मतदाताले चाहीँ विवेक प्रयोग गर्नुपर्छ । प्यानल लिएर गएपनि दुईवटै प्यानलका मान्छे समेटेर आवश्यक्ता र योग्यताका आधारमा निर्वाचित गर्नुपर्छ ।

आफ्नो छोराछोरी पनि अनुशासनमा बसेन भने र उछृंखल भैदियो भने सन्तान हो भनेर भएन । जवरजस्ती गर्न त भएन । प्रयास गर्ने हो जवर जस्ती गर्न त मिलेन । पहिले भुपु अध्यक्षको मान मर्यादाको निम्ती पनि मिलाएर जाने चलन थियो । कोही प्रतिश्पर्धी निस्किएपनि मिलाउन सक्थ्यौं । भन्नेबेलामा पूर्व अध्यक्ष भन्ने र नमिलाउँदा मिलाएन भन्ने अनि मिलाउन खोज्दा मेरै गोरुको बाह्रै टक्का भन्न त मिल्दैन । केही भुपु अध्यक्ष पनि एकले अर्कालाई नमान्ने चलन छ । अर्को कुरा उद्योग बाणिज्य संघमा श्रेणी अनुसार प्रतिश्पर्धा गर्ने चलन थियो । स्टेप बाई स्टेप माथी चढ्ने चलन थियो । त्यही अनुसार अध्यक्ष भैरहेकै छ । यही अनुसार जानुपर्छ भन्ने मेरो पनि मान्यता हो । यसको अर्थ यो होईन कि मैले रविनसनको प्रोमोट गरेको । यो एउटा सिस्टम हो । अहिले आएर फड्कै मार्नुपर्ने कारण के परेको हो ? त्यहाँ त दिन जाने हो लिन जाने हैन । २ बर्ष पछि नेतृत्वमा गएर के फरक पर्छ ? ४ बर्ष पछि परेर के फरक हुन्छ ? म पनि १६ बर्ष विभिन्न पदाधिकारीमा बसेर बल्ल अध्यक्ष भएको हुँ । अहिले पनि १२ बर्ष, १५ बर्ष काम गरिसकेका मान्छे छन् नि । अहिले कार्यसमितिमा छिर्ने वित्तिकै पदाधिकारीमा फड्किुनपर्ने कारण किन परेको हो ?

विशुद्ध अर्गनाईजेसनमा राजनीतिक रंग दिएर चुनाव लड्नु लडाउनु राम्रो हैन । मिलेर जाउ भन्दा फलानो भुपु अध्यक्षलाई सोध्नुपर्छ भन्ने कुरा आउछन् । आफु आफ्नो निर्णय लिन नसक्नेहरु भोलि नेतृत्वमा गएर पनि संघको गरिमा कसरी धानिन्छ ? त्यो मान्छे पराधिन हो कि स्वतन्त्र हो ? सम्पूर्ण ब्यवसायीको नेतृत्व लिने मान्छेले फलानालाई सोध्नुपर्छ, उसको अनुमति लिनुपर्छ भन्नुको अर्थ पराधीन हो कि होईन ? त्यसकारण मिलाउनका लागि जो गडफादर बन्न खोज्छ उसले पनि बुझ्नुपर्छ र उम्मेदवार हुने मान्छे पनि संघमा हजारौं ब्यवासायी छन् भन्ने बुझ्नुपर्छ ।

उद्योगी ब्यवसायी र सचेत नागरिक भएकोले समाजमा पनि केही काम गरेर देखाउनुपर्छ । ब्यपारी भनेको एकले अर्कोलाई विश्वास गर्ने र सहयोग गर्ने बर्ग हो । हरेक कुरा विश्वासमा अडेको छ । प्रतिश्पर्धा पनि विश्वासमा हुनुपर्छ । अहिले जुन किसिमको बाजा बजेको छ, यो चाहीँ उद्योग बाणिज्य संघको भविष्य राम्रो छैन । यस्तै हुँदै गयो भने भोलि अरुले डोमिनेट गर्छ, विगार्छ र भत्काउन खोज्छ । त्यो भयो भने उद्योगी ब्यवासीको पनि साख गिर्छ । तर मतदाताले यो कुरा राम्रोसँग विश्लेषण गरेर मुल्यांकन गरोस् । उम्मेदवारको पछाडी झण्डा लिएर जो सुकै आओस् तर विवेक प्रयोग गरेर छवी कायम गर्न मेरो आग्रह छ ।