भारोत्तोलनमा नेपालले जित्यो दुई स्वर्णसहित १६ पदक

 

काठमाडौं, मंसिर २२ ।

१३ औं साग अन्तर्गत भारोत्तोलनका खेलहरु सकिएका छन् । नेपालले भारोत्तोलनमा २ स्वर्ण, ३ रजत र ११ कास्य गरी १६ पदक जितेको छ ।

२० स्वर्णसहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश दश वेट स्पर्धामा भएको खेलमा नेपालले १६ स्पर्धामा भाग लिएको थियो ।

विकास थापाले ८९ केजी तौल समूहमा र सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेर महिलातर्फ भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

अन्तिम दिन आइतबार नेपालले पदक तालिकामा थप १ रजत र १ कास्यपदक थप्न सफल भयो ।

चार दिनसम्म पोखरामा चलेको भारोत्तोलनको अन्तिम दिन सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा रजत पदक जित्न सफल भएका हुन् ।

सागरले राष्ट्रिय कीर्तिमानसहित रजत जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी २७५ किलो तौल उठाए ।

यसअघि सागको छनोट चरणमा आफ्नो नाममा रहेका तीनै विधाको कीर्तिमान सागरले तोडेका हुन् । त्यस्तै १०९ प्लस तौल समूहमा नेपालका लागि पुकारले कास्यपदक जिते ।

उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ सहित २७५ किलो तौल उठाएका हुन् । पुकारको लागि स्न्याच विधामा राष्ट्रिय कीर्तिमान हो ।

नेपाललाई यअसघिको सागमा स्वर्णपदक दिलाएका कीर्तिमानी खेलाडी कमलबहादुर अधिकारी भने कास्यपदकमै सीमित भए ।
(ईमेजखबरबाट साभार)