भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट सिधै मुक्तिनाथ जाने

काठमाण्डौं, बैशाख १९ ।
नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिनमै धार्मिक यात्रा गर्ने भएका छन् । बैशाख २८ गते विहान करिव ९ वजे जनकपुर आउने मोदी दुई घण्टा त्यहाँ बिताएर मुक्तिनाथ दर्शनका लागि जाने भएका छन् ।

प्रधानमन्त्री मोदी विहारको पटनाबाट हेलिकप्टर मार्फत सिधा जनकपुर आउने कार्यक्रम छ । गृहमन्त्री राम बहादुर थापाका अनुसार जनकपुर भ्रमण पश्चात मोदी मुस्ताङ भ्रमणमा जाने कार्यक्रम तय भएको हो । मोदीको जनकपुरधाम भ्रमणको क्रममा पहिलो कार्यक्रम जानकी मन्दिरमा पुजा गर्ने र त्सपछि वाह्रविघामा अभिनन्दन कार्यक्रम हुनेछ ।

अभिनन्द कार्यक्रममा नै मोदीको नागरिक सम्वोधन पनि हुने बताइएको छ । मोदीको स्वागतको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन प्रदेश सरकारले गर्ने उल्लेख छ । मोदीको भ्रमणका क्रममा कडा सुरक्षा ब्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । मोदीको भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने गृहमन्त्री थापाको विश्वास छ ।