भारतले जित्यो पुरुष भलिबलको स्वर्ण

 

काठमाडौं, मंसिर १७ ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत् पुरुष भलिबलको स्वर्णपदक भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

पहिलो सेट पाकिस्तानले २५–२० अंकले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो ।

भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१७ तथा चौथो सेट २९–२७ अंकले जितेको हो ।

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिला भलिबलतर्फ स्वर्णपदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ । उक्त खेलको उपराष्ट्रपति नन्दबहादुर पुनले अवलोकन गर्दैछन् । (रासस)