भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

 

काठमाडौं, माघ २४ ।

नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन् ।

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छन् ।

जारी लिगमा उनी हालसम्म सर्वा्धिक गोलकर्ता बनेकी छन् ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन् ।

दोस्रोपटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन् ।

गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन् । सेथु गत संस्करणको च्याम्पियन पनि हो । सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन् ।

उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सावित्रालाई ओजिलको जर्सी

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ ।

ओजिलका एजेन्ट इकुट सोगुटले सो उनलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

जारी लिगमा सावित्रा सम्मिलित गोकुलमले हालसम्म खेलेको चारओटै खेलमा जित हासिल गरेको छ ।

लिग सुरु हुनअघि भएको छनोट खेलमासमेत उनले ३ गोल गरेकी थिइन् ।

सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छन् । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ । (रासस)