भारतमाथि नेपालको ऐतिहासिक जित

पोखरा, कार्तिक २६ ।
कप्तान दीपेन्द्रसिंह ऐरिको अलराउण्डर प्रदर्शनमा नेपालले एसिसी यू–१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जीत हात पारेको छ । ऐरिले नेपालका लागि सर्वाधिनक ८८ रन जोडेपछि नेपाली टोली भारतसँग १९ रनले बिजयी भयो ।
भारतीय टोलीलाई ४८.१ ओभरमा १ सय ६६ रनमा खुम्च्याएको नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सील (एसिसी) को शीर्ष स्थानमा रहेको भारतमाथी कब्जा जमाएको हो । मलेसियाको बायुमास ओभलमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले ८ विकेटको क्षतिमा १ सय ८६ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि कप्तान ऐरीले सर्वाधिक ८८ रन जोडे । उनले १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का हिर्काए । ओपनर जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । उनले ९५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेखले ३ रन मात्र जोड्न सके ।
अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किए । भीम सार्कीले १५ रनको योगदान गरे । उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए । पवन सर्राफ १ रनमै पेभेलियन फर्किए । कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए । सन्दीप लामिछानेले नटआउट ९ र किशोर महतोले नटआउट ७ रन जोडे । बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले २–२ विकेट लिए । मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अथर्व टइडेले १–१ विकेट हात पारे ।
भारतका लागि ओपनर हिमांशु रानाले ४६ रन जोडे । ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका उनलाई नेपालका कमलसिंह ऐरीले बोल्ड गरेका थिए । दीपेन्द्रसिंह ऐरीले आदित्य ठाकरेलाई २३ ओभरको अन्तिम बलमा १३ रन बनाएर खेलिरहँदा डलबिडब्लूको धरापमा पारे । मनोज कर्ला ३५ र सलमान खान १ रनमा आउट भए। मनोजलाई पवन सर्राफ र सलमानलाई साहब अलामले आउट गरे । अनुज रावलले २६ बलमा १८ रन जोडे । तनुस कोइटेन शून्य रनमा आउट भए ।
अभिषेक शर्मा २७ रन बनाएर खेलिरहँदा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो । लगत्तै कप्तान दीपेन्द्रसिंह ऐरीले मन्दीप सिंहलाई शून्य रनमा आउट गरे । ऐरीले नै शिव सिंहलाई ९ रनमा आउट गरे । नेपालका कप्तान ऐरीले ४ विकेट लिए । पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए । सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए ।