भाग्यमानी गोरखा–कास्कीलाई फापेन प्रदेश सरकार

पोखरा, फागुन ५ ।
सँधैजसो राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहने गोरखा संघीय संरचनामा पनि भाग्यमानी रह्यो । नयाँ संरचनाले प्रदेश सरकार गठन गर्दा सबैभन्दा बढी भाग्यमानी गोरखा भयो । प्रदेशमा ७ भन्दा बढी मन्त्री बनाउन नपाईने निर्देशन छ । यति सानो मन्त्रीमण्डलमा गोरखाबाट मात्रै २ जना मन्त्री भए । गोरखाको पनि क्षेत्र नम्बर १ का दुवै बिजेता सांसद प्रदेशको जिम्मेवार मन्त्रालयमा बहाली भएका छन् । प्रदेश (क) का सांसद माओवादी नेता लेखबहादुर थापा भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री र (ख) का सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्न सफल भए ।
यो मन्त्रीमण्डलमा प्रदेशका पुर्वी जिल्लाबाट मात्रै ४ मन्त्री भैसकेका छन् । त्यसो त मुख्यमन्त्री नै पुर्वतिर गयो । लमजुङका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्दा तनहूँका हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीको रुपमा नियुक्त भए । पुर्वी जिल्लाका लागि यो सुखद संयोग नै मान्नुपर्छ । १६ सांसद भएका ३ जिल्लामा मुख्यमन्त्री सहित ४ जना मन्त्रीपरिषद्मा छन् । तर कास्की यो संरचनामा अभागी सावित भएको छ । आँफैमा १३ सांसद लिएर एउटा पनि मन्त्री नपाउनु कास्कीका लागि ठूलो चुनौति हो । यसले कास्कीमा नेताको प्रभाव कमजोर देखाउँछ । मन्त्रीमात्रै होईन, पार्टीले निर्वाचित गर्ने संसदीय दलको नेता, सभामुख लगायतका पदमा पनि कास्की पुग्न सकेन । यद्यपी प्रमुख सचेतक र सचेतक छनौटको क्रम बाँकी नै छ । माओवादीबाट सांसद रामजी बराल उपनेता भएका छन् भने गायत्री गुरुङलाई प्रमुख सचेतक बनाईएको छ । एमाले र काँग्रेसको छनौटमा कास्की नपरे नेतृत्व तहमा कास्कीको उपस्थिती कमजोर हुने निश्चित छ ।