भाईटीका लगाउँछु भन्नेले नै देउसी खेल्न बोलाएर गरे बलात्कार

काठमाण्डौं, कार्तिक १४ ।
गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे, त्यही क्रममा गत असार पहिलो साता इन्दहाङ राईसाँग चिनजान भयो । दिदीको सँगै पढ्ने साथी भएकोले उनी दाई भनेरै सम्बोधन गर्थिन् ।

सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ ।’ दिदीले भनिन् । भाइटीकाको अघिल्लो दिन ती किशोरी कोठमा एक्लै थिइन् । राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने ।

उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा र्पुयाए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् । त्यस दिन राईका आफन्त अन्तै गएका थिए ।

राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । ‘माहौल ठीकठाक नै थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो,’ पीडित किशोरीले भनिन्, ‘सुरुमा उसले हग गरौं भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती र्गयो ।’ खबर कान्तिपुर दैनिकले लेखेको छ ।