भाइटीकाको शुभसाइत कात्तिक १२ गते ११ः५५ बजे

 

काठमाडौं, कार्तिक ३ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ ।

समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।

कात्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ ।

राज्य सन्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।

सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ । त्यसदिनदेखि यमदीप दान सुरु गरिन्छ ।

कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी, धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औंसी तिथि पर्दछ ।

त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ ।

कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्ममात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत् हुने समितिको ठहर छ । (रासस)