भलामको हरिहर गुफामा बालाचतुर्दशी मेला हुने

पोखरा, कार्तिक २३ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रममा बालचतुर्दशी बिशेष मेला हुने भएको छ । आश्रमले बुधवार आश्रम स्थलमा पत्रकार सम्मेलन गरी हिन्दुहरुको विशेष पर्व वाला चतुर्दशीमा मंसिर १ गते बालाचतुर्दशी विशेष मेला २०७४को आयोजना गर्न लागेको जानकारी दिइयो ।
विं सं. २०४० देखि बाला चतुर्दशीको अवसरमा सतबिज छर्ने मेलाको आयोजना गरिदै आएको भएपनि यो वर्ष हरिहर गुफा क्षेत्र पोखरा लेखनाथ महानगरमा गाभिएसंगै भब्य रुपमा बालाचतुर्दशी विशेष मेलाको आयोजना गर्न लागिएको हरिहर गुफा सन्यास आश्रम सेवा समितीका सचिव गणेश बहादुर खत्रीले वताए । खत्रीका अनुसार मेलालाई सफल बनाउनका हरिहर गुफा सेवा समितीका अध्यक्ष पिठाधिस श्री १००८ स्वामी आत्मनन्द गिरीजी महाराजको संयोजकत्वमा मुल आयोजक समिती रहने गरी विभिन्न ११ वटा उपसमितीहरु गठन गरिएको छ ।
विं सं १९०६ सालमा तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले हरिहर गुफा क्षेत्रमा रहेको करिव ४० रोपनी जग्गालाई संरक्षण गरी आश्रम बनाउन निर्देश भएदेखि त्यो ठाउ संरक्षण गरेको आश्रमका कोषाध्यक्ष रामजी प्रसाद पौडेलले जानकारी दिए । पोखराबाट नजिकै रहेर पनि ओझेलमा परेको पर्यटकीय र धार्मिक आश्रममा हाल ११ जना जेष्ठ नागरिकले आश्रय लिदै आएको समेत पौडेलले वताए ।
आश्रममा स्वदेशी तथा विदेशी धार्मिक पर्यटक संगै हरेक वर्ष सतबिज छर्न १० हजार वढी दर्शनार्थी आउने गरेको आश्रमले जनाएको छ । आश्रममा यो वर्षदेखि विशेष मेलाको आयोजना गरेको भएतापनि आगामी वर्षदेखि साताब्यापी रुपमा मेला तथा महायज्ञको आयोजना गर्नका लागी वडाले पहल गर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । आश्रम रहेको ठाउमा खानेपानीको ब्यवस्था नभएकाले आगामी वर्षमा हरिहर क्षेत्रलाई महानगर संग समन्वय गरेर खानेपानी सुलभ बनाउन प्रयत्न गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।