भरतपुरमा फोहोरको तनाव, ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

भरतपुर, भदौ २३ ।
भरतपुर महानगरको फोहोरले पीडित बनाएपछि ल्याण्डफिल साइट वरपरका स्थानीयले फोहोर फाल्न रोक लगाउने भएका छन् । दुर्गन्ध फैलिएपछि मागपत्र लिएर महानगर पुगेका स्थानीयलाई मेयर रेणु दाहालले धम्कीपूर्ण भाषामा फोहोर रोक्न चेतावनी दिएकी स्थानीयको आरोप छ ।

अहिले स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर उनीहरुले भोलिदेखि नै फोहोर फाल्न नदिने चेतावनी दिए । ल्याण्डफिल साईट संर्घष समितिका अध्यक्ष उत्तम श्रेष्ठले महानगर प्रमुखको धम्कीका कारण आफुहरु निराश भएको बताए ।

महानगरले आफुहरुको क्षेत्रमा बर्षौंदेखि फालेको फोहरले स्थानियलाई सास्ती मात्र भएको र स्थानीयको हितमा कुनै काम नगरेको उनको गुनासो छ । गाउलेलाई प्रदुषण तथा दुर्गन्धबाट मुक्त गर्न भोली बिहान ६ बजेबाटै फोहर रोक्ने कार्यक्रम तय गरेको संयोजक श्रेष्ठले बताए ।