भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना

काठमाण्डौं, साउन १३ ।
विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महत्वपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए । गुप्ताको डेरामा छापा मारेर अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।