भट्टराई भन्छन्–काँग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भो

गोरखा, कार्तिक ५ ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा २ बाट कांग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भएको बताएका छन् । कांग्रेसको समर्थनमा गोरखा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि भट्टराईले कांग्रेस र कम्युनिष्टको पर्खाल भत्काएर पुल बनाउनु पर्ने बताए ।
यो गठबन्धनप्रति देशभरको मात्र नभई विश्वको आँखा परेको भन्दै उनले दुवै थरी एक ठाउँमा आएर मात्र परिर्वतन सम्भव भएको बताए । अबको राजनीतिक एजेण्डा विकास र सबृद्धिको भएको भन्दै उनले यसका लागि राजनीतिक स्थायित्व चाहिने बताए ।
उनले भने, ‘त्यसैले हामीले विचार मिल्नेहरुसँग प्रि इलेक्सन एलाइन्स बनाएका छौं र हामी अध्याधिक मतले जित्छौं ।’ अब कोही कसैको शत्रु नभएको भन्दै उनले विगतको तिक्तता बिर्सिन आग्रह गरेका छन् ।
भट्टराई नेतृत्वको नयाँ शक्ति सुरुमा एमाले र माओवादीसँगको वाम गठबन्धनमा थियो । तर, गोरखा २ सहितका सिटमा सहमति नभएपछि उनी कांग्रेस गठबन्धनमा पुगेका हुन् ।