भक्कानिँदै नर्भिक पुगे प्रचण्ड

काठमाडौं, मंसिर ३ ।
छोरा प्रकाशको निधन भएपछि चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं आइपुगेका हुन् ।
प्रचण्ड भक्कानिँदै छोरा प्रकाशको शव राखिएको नर्भिक अस्पताल आइपुगेका हुन् । प्रचण्डसँगै प्रकाशकी दिदी रेणू पनि अस्पताल पुगेकी छिन् । नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकको घुइँचो लागेको छ । अस्पताल पुगेका आफन्तजन भावविह्वल छन् ।
प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ । आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो ।
अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जानकारी दिए । चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ ।