ब्रिटिश लाहुरे भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने पक्राउ

पोखरा, असोज ८ ।
नक्कली फेसबुक आईडीबाट विर्खबहादुर थापाले ५ महिनाअघि एउटी महिलालाई पृथ्वीचोकको एउटा होटलमा बोलाए । गएको जेठ २९ गते आफुँ व्रिटिश लाहुरे भएको र विदेश लैजाने प्रलोभन देखाई ति महिलालाई सुन र नगद सहित होटलमा आउन अह्राए । महिलाले पनि भएभरका सुन र सम्पत्ति बोकेर आईन् ।

रातभरी हाँसखेल गरे । दुवैजनाको सहमतिमै सहवास समेत भयो । सुत्ने बेलामा गहना लाउन नहुने भन्दै विर्खले महिलालाई सबै गहना खोलेर राख्न भने । विहानपख महिला शौचालय गईन् । विर्खले त्यही मौका छोपेर नगद ३ लाख ५० हजार र ४ तोला सुनका गहना बोकेर फरार भए । त्यसपछि ति महिला विचल्लिमा परिन् । कहिले व्रिटिश लाहुरे, कहिले चाहीँ नेपाल प्रहरीको असई भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने उनको धन्दा फेरिएन ।

उनले प्रहरीमा जाहेरी पनि गरेकी छिन् । त्यसकै आधारमा प्रहरीले निरन्तर अनुसन्धान गर्दै गयो । उनलाई पोखराकै पृथ्वीचोकबाट पक्राउ गरियो । सुर्खेत भेरिगंगा नगरपालिका १३ मा बस्ने ३२ बर्षका बिर्ख बहादुर थापालाई पक्राउ गरेपछि उनकै विरुद्ध अर्को जाहेरी पनि परेको छ ।

हालसम्म दुईजना महिलाले जवरजस्ती करणी र धनमाल लुटेको आरोप सहित उनको विरुद्ध किटानी जाहेरी दिएको कास्की प्रहरीले जनाएको छ । विर्खले १ बर्षदेखि यही धन्दा गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको कास्की प्रहरीका डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

‘विर्खको फेसवुक एकाउण्ट हेर्दा ५ सय जना भन्दा बढी महिलामात्रै साथी रहेको भेटियो । त्यहीँबाट धेरै महिलाहरुलाई ब्ल्याक मेलिङ गरेको देखिन्छ, उनले भने–१ बर्षदेखि यो धन्दा गरेको स्विकार गरेको छ । अव कानुनी कारबाही सुरु भैसकेको छ ।’ उनलाई जवरजस्ती करणी र चोरि मुद्धामा म्याद थप गरी कारबाही सुरु भएको गुरुङले जानकारी दिए ।