ब्युटी क्वीन नेपाल जापान हुँदै, आवेदन खुल्यो

टोकियो, पुस ९ ।
जपानको सामाजिक कार्यमा सक्रिय रहँदै आएको नेपाली महिलाहरुको समूह “म नेपाली ग्रुप जापान” ले ब्युटी क्वीन नेपाल जापान २०१८ आयोजना गर्दैछ । सुन्दरी प्रतियोगिताका लागि शुक्रबारदेखि अनलाईन आवेदन खुला भएको छ । जापानमा रहेका नेपाली चेलीहरुको ब्यक्तित्व विकास र आत्मविश्वास अभिबृद्धी गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागिएको ग्रूपकी महासचिव सरु लम्सालले जानकारी दिईन् । ग्रूपले आयोजना गर्न लागको ब्यूटी क्वीनमा विवाहित र अविवाहित दुबै समुहका महिलाहरुले भाग लिन पाउनेछन् । १८ देखि ३० बर्ष उमेर समूहका महिलाहरुले मात्रै प्रतियोगितामा सहभागी हुन पाउने लम्सालले बताईन् ।
प्रतियोगितामा सहभागी हुनका लागि २ हजार जापानी येन तिर्नुपर्छ । ब्यूटी क्वीनको अडिसन ११ फेब्रुअरीमा टोकियोमा हुनेछ भने तालिम १२ फेब्रुअरी देखि १८ फेब्रुअरीसम्म हुने आयोजकले जनाएको छ । अडिसन राउण्डबाट छानिएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धि प्रशिक्षण समेत दिइने छ ।
अन्तिम प्रतियोगिता फेब्रुअरी १९ मा टोकियोको नाकानो जेरो हलमा हुनेछ भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जापानमा रहेको सनराइज प्रोडक्सनले गर्ने ग्रूपकी अध्यक्ष स्मृति आचार्यले बताईन् । प्रतियोगिताका विजेताले “ब्यूटी क्वीन नेपाल जापान २०१८” को उपाधी सहित विभिन्न उपहारहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले पनि पुरस्कार पाउने उनको भनाई छ । यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिने छ । यस्तो प्रतियोगिता नेपाली समूदायका लागि जापानमा पहिलो हो ।