‘ब्यालोन डी’ओर अवार्ड’ विवादमाः कहाँ हरायो मेस्सीको भोट ?

एजेन्सी, मंसिर १९ ।
विश्व फुटबलको बहुप्रतिष्ठित पुरस्कार ‘ब्यालोन डी’ओर अवार्ड’ सोमबार राती मात्र क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका स्टार लुका मोड्रिचले जिते । विश्वका एक सय ८० देशका पत्रकारको भोटका आधारमा प्रदान गरिने यस अवार्ड मोड्रिचले जितसँगै विवादमा परेको हो ।

फ्रान्सले सन् १९५६ देखि सञ्चालन गर्दै आएको यस अवार्डका लागि यसपटक ३० जना खेलाडी मतका लागि छनोटमा परेका थिए । मोड्रिचले क्रिस्टियानो रोनाल्डोलाई मतका आधारमा पछि पार्दै उक्त अवार्ड पहिलो पटक जितेका थिए ।

ब्यालोन डी’ओरको भव्य घोषणासँगै यसपटक आयोजकले भोटिङ फेरबदल गरेको विषय बाहिर आएको छ । अन्तराष्ट्रिय सञ्चार माध्याममा आयोजकले पत्रकारले गरेको भोटमा व्यापक फेरबदल गरेका समाचार बाहिर ल्याएका छन ।

आयोजकले मतका आधारमा सार्वजनिक गरेको नतिजा अनुसार शीर्ष पाँचमा रहने खेलाडीमध्ये लुका मोड्रिच ७५३, क्रिस्टियानो रोनाल्डोले ४७६, एन्टोइन ग्रीजम्यान ४१४, केलियन एम्बापेले ३४७ र लियोनल मेसी २८० अंक पाएका थिए ।

भोटिङमा सहभागि टोबागोका खेल पत्रकारसमेत रहेका लासान लिबर्डले आयोजकले व्यापक घोटला गरेको दाबी समेत गरेका छन् । ब्यालोन डी’ओर अवार्डमा बार्सिलोनाका मेसीले सर्वाधिक मत पाउनुपर्ने र अधिकांश पत्रकारले उनलाई नै मत दिएको दावी गरिएको छ ।

लिबर्डले सामाजिक सञ्जाल ट्वीटरमा आफूले पहिलो भोट मेसी, दोस्रोमा मोड्रिच र तेस्रोमा रोनाल्डो, चौथोमा मोहमद सालाह र पाँचौं नम्बरमा एन्टोलाई दिएका थिए । उनका अनुसार उनले पाँचौंमा ग्रीजम्यानलाई दिएको खुलासा समेत गरेका छन ।

तर, आयोजकले लिबर्डले पहिलो नम्बरमा ग्रीजम्यानलाई भोट दिएको दावी गरेको छ । आयोजकका अनुसार अन्यमा पनि लिबर्डले दिएको भोट र व्यक्ति फरक छ । लिबर्डले दोस्रोमा सालाह, तेस्रोमा रोनाल्डो, चौथोमा मोड्रिच पाँचौंमा मात्र मेसीलाई भोट लिएको जनाएको छ ।

लिबर्ड भने आयोजकको उक्त भनाइ मान्न तयार छैनन् । लिबर्डले आफ्नो भोटिङको प्रमाण आफूसँग सुरक्षित रहेको समेत बताएका छन् । यस विषयलाई लिएर व्यापक टिका टिप्पणी भएको छ । जसले अवार्ड पूर्ण विवादमा तानिएको छ ।

मेसी र रोनाल्डोको बहिस्कार

संयोगबस यसपटक ब्यालोन डी’ओर अवार्ड समारोहमा मेसी र रोनाल्डो सहभागि भएनन् । सर्वाधिक पाँच÷पाँच पटक अवार्ड जितेका मेसी र रोनाल्डोलाई आयोजकले निम्ता पनि दिएको थियो ।

समारोहमा दुवै खेलाडी बस्नका लागि सिटमा नेम प्लेट पनि टाँसिएको थियो । तर मोड्रिचले अवार्ड चुम्दा रोनाल्डो र मेसी परिवारसँग रमाईरहेका थिए । अवार्ड चल्दैगर्दा मेसीले इन्सटाग्राममा आफ्ना दुई छोरासँगको फोटो सार्वजनिक गरे ।

यसैगरी रोनाल्डो आफ्नी प्रेमीका र छोरासँग घरमै बसे । विश्वका अधिकांश फुटबल पदाधिकारी र खेलाडी उपस्थित रहेको अवार्ड समारोहमा मेसी र रोनाल्डोको सिट खाली थियो । जसबाट दुवै स्टारले अवार्ड बहिस्कार गरेको प्रष्ट हुन्थ्यो ।

रोनाल्डोकी दिदी इल्मा एभिरोले इन्सटाग्रामका पोस्ट गर्दै भनेकी छन्– ‘र्दुभाग्य, हामी यस्तो संसारमा बसिरहेका छौं, जहाँ माफिया र पैसाका लागि खेल हुन्छ ।’

अर्की दिदीले पनि इन्सटाग्राममा लेख्दै भनेकी छन्– ‘जसले फुटबल कोर्स बुझ्छ त्यो नै विश्वको उत्कृष्ट खेलाडी ।’ यसले पनि ब्यालोन डी’ओर अवार्ड विवादमा परेको देखिन्छ ।

कतिपयले भने रोनाल्डो र मेसीले अवार्ड बहिस्कार गर्नु उनीहरुमा स्पोर्टस म्यानसिपको आचरण नभएको टिका टिप्पणी गरेका छन् । आफूले जित्दा आउने र अरुले जित्दा बहिस्कार गर्नु ठिक नभएको भन्दै मेसी र रोनाल्डोको आलोचना पनि गरेका छन ।