बैंकको कर्मचारी भन्दै सुन ठगेर फरार

पोखरा, असार ८
सानिमा वैंकको वसन्त उपाध्याय नामको कर्जा अधिकृत हुँ भन्दै गोरखा सदरमुकाममा एक ब्यक्तिले सुन ठगेर फरार भएका छन् । गोरखाका रोमन घिमिरेसँग ५० हजार र जितु सुनारसँग ६० हजार रुपैयाँ ठगेका हुन् । ती ब्यक्तिले दुबै ब्यापारीसँग ६०÷६० लाल सुन लिएका पिडितहरुको भनाइ छ ।

जेठ ३० गते साँझ उपाध्यायले सुन पसलबाटै ठगि गरेका हुन् । आफ्नो विवाहको एनिभर्सरी भएको र श्रीमतिलाई उपहार दिन लागेको तर आफुसँग पैसा नभएकोले नक्कली चेक दिएर सुन ठगेका हुन् । ‘आज मेरो बिबाहको एनिभर्सरी हो । मैले उनलाई केही उपहार दिनुपर्नेछ । मसँग पैसा भएन’, उपाध्यायले आफूलाई सुनाएको कुरा उधृत गर्दै रोमन घिमिरेले भने, ‘म सानीमा बैंकको ऋण अधिकृत हो । केहीदिनमा यहाँकै शाखामा आउँदैछु । यो चेक राखेर मलाई सुन दिनुहोस् ।’ ति ब्यक्तिले छुट्टै १४ हजार पेश्की समेत दिए । बाँकी ५० हजारको चेक दिएपनि भोलीपल्ट सहटी भएन ।

सुन लिएबापत जितु सुनारलाई दुई हजार आठ सय मात्रै दिए र ६० हजारको चेक दिए । दुबै ब्यापारीलाई एउटै कुरा भनेर उपाध्यायले सुन लिएका अनुसन्धानबाट खुलेको छ । चेक साट्न जाँदा ति ब्यक्ति बैंकको कर्मचारी नभएको खुलेको हो । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।