बेलायतले गर्यो नेपालका लागि कोरोना खोपको अनुमोदन

एजेन्सी, पुस १६ ।
नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो । तुलनात्मक रूपमा सस्तो र सामान्य फि«जको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो खोपको प्रतीक्षा विश्वव्यापी रूपमा रहेको छ ।

खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउनुहुन्छ ।

‘यो अत्यन्त खुसीका कुरो हो,’ डा. उप्रेतीले भन्नुभयो ‘एमएचआरएको अनुमति विश्व स्वास्थ्य संगठनले दिएबराबर मानिन्छ ।’ बेलायतले यो खोपको १० करोड डोजको अर्डर गरिसकेको छ । त्यसअन्तर्गतको ४० लाख डोज केही दिनमा उपलब्ध हुने बेलायती दैनिक गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।