बूढानीलकण्ठ कार दुर्घटनामा जेल गएका चालकको बयान-मदिरा पिएको थिएँ, युवती भगाइयो

काठमाडौं, पुस २४ ।
बूढानीलकण्ठ कार दुर्घटनाका प्रतिवादी पृथ्वी मल्लले मदिराको नशा तथा अनिद्राको कारण सवारी दुर्घटना भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा काठमाडौंमा दुर्घटनाको अवस्थामा कारको चालक रहेका पृथ्वी मल्लले दिएको बयानमा आफूले मदिरा सेवन गरेको र रातभर नसुतेको कारण निदाएर दुर्घटना भएको बयान दिएका हुन् ।

रातोपाटीलाई प्राप्त मल्लको बयानमा उनले भनेका छन् ।, ‘ …. अन्दाजी ०५ः३० बजेको समयमा साथी करिश र अन्य दुइजना केटी साथीहरुलाई म आफ्नो बा १४च ६१२३ नम्बरको कारमा राखी म आफैले चलाएर नारायणस्थनस्थित पसलबाट केही खानेकुरा खरिद गरेर काठमाडौं जिल्ला बूढानीलकण्ठ हुँदै ग्रीनभ्याली पार्क गइ केहीबेर बसेर पुनः आफ्नो घरतर्फ फर्किन काठमाडौं जिल्ला विष्णुमति खोला तर्फबाट बूढानीलकण्ठतर्फ म आफैले कार चलाएर आउन लाग्दा पुल कटेपछि रातभरिको अनिद्रा भएकाले झ्याप्पै निदाएपछि मैले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो साइडबाट पैदल हिँडिरहेको हाल नाम थाहा भएको वर्ष ४० की लिला देवकोटालाई ठक्कर दिइ सडक किनारामा रहेको बिजुलीको पोल तथा मर्मत गर्न राखिएको मोटरसाइकल समेतलाई ठक्कर दिइ सडकको आफ्नो साइडसम्म पुगेपछि कार आफै बन्द भएपछि कारबाट ओर्लेर हेर्दा निज लिला देवकोटा सडकपेटीमा लडी गम्भीर घाइते अवस्थामा देखेपछि मानिसहरु भेला जम्मा भएको देखेर केटी साथीहरुलाई कारबाट बाहिर निकालेर पठाइसकेपछि तत्काल प्रहरी टोली आएर घाइतेलाई उपचारको लागि पठाएर म घटनास्थलको केही पर सडक पेटीमा उभिरहेको अवस्थामा मलाई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरेका हुन् …।’

मल्लले आफ्नो बयानको मंसिर २७ गते साँझ ७ः३० बजेदेखि विभिन्न रेष्टुरेण्टमा पुगेर खाना तथा मदिरा पिएको बयान दिएका छन् । मंसिर २७ गतेदेखि नै अत्याधिक मदिरा सेवन गरी सवारीसाधन चलाउँदा पृथ्वी मल्लले चलाएको कार दुर्घटना भयो । र दुर्घटनामा ४० वर्षीय लिला देवकोटाले ज्यान गुमाइन् । त्यसपछि पृथ्वी मल्ल र करीश मास्के पक्राउ परे भने अन्य दुई युवतीहरु परमिता राज्यलक्ष्मी राणा र एलिना थापा फरार रहे । २३ दिन हिरासतमा राखेपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् मल्ल विरुद्ध लापरवाहीपूर्वक सवारी चलाएकामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) बमोजिम ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवानाको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो ।

दुई दिन चलेको थुनछेक बहसपछि बुधबार न्यायाधीश दीपककुमार दाहालले तत्काल प्राप्त प्रमाणबाट दोषी होइन भन्ने आधार नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाउने आदेश दिएका हुन् । यद्यपि मल्ल बिरामी भएको भन्दै उनलाई निजी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

युवतीलाई हतारहतार भगाइएको थियो

बूढानीलकण्ठमा कार दुर्घटना भएलगत्तै कारको पछाडि रहेका दुई युवती परमिता राज्यलक्ष्मी राणा र एलिना थापालाई भने दुई युवाहरु पृथ्वी मल्ल र करीश मास्केले भगाएको स्वीकार गरेका छन् । घटनालगत्तै दुई युवाले आफूसँगै रहेका दुई युवतीलाई भगाएको सरकारी वकिल र प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

दुर्घटना भएपछि पहिलो कर्तव्य घाइतेलाई उपचारका लागि अस्पताल लैजानुपर्नेमा नायिकासमेत रहेकी परमिता राणा र उनकी साथी एलिना थापा भने त्यहाँबाट चुपचाप भागेका थिए । प्रहरीले लामो समय खोजेपनि उनीहरु सम्पर्कमा आएका थिएनन् र घटनाबारे केही थाहा नभएको जस्तो गरि बसेका थिए ।

तर जब पृथ्वी मल्लविरुद्ध सोमबार जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी तथा उनका साथी करीशले परमिताको नाम लिए, त्यसपछि मात्रै परमिताले घटनाको समयमा आफू कारमै रहेको र डरले भागेको स्वीकार गरेकी छिन् । पत्रकार मदन ढुंगानाले रातोपाटीका लागि यो खवर लेखेका हुन् ।