बुद्ध एयरको पोखराबाट भैरहवा र भरतपुरको भाडा घट्यो

पोखरा, साउन ११ ।
बुद्ध एयरले करिब एक वर्ष देखि पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक उडान गरिरहेको छ । यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गरेको छ । अहिले सम्म बुद्धले पोखरा–भैरहवा रुटमा एकतर्फी ४३ सय रुपैयाँ लिँदै आएकोमा अब सस्तो भाडादरमा पनि यात्रुहरु उड्न पाउने छन् ।

बुद्धले पोखरा–भैरहवा रुटमा सबैभन्दा सस्तो २७ सय रुपैयाँमा उडान गर्ने बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । पोखरा–भरतपुरमा अहिले सम्म ३८ सय रुपैयाँ रहेकोमा अब सस्तोमा २५ सय रुपैयाँमा पनि उड्न पाइनेछ । विदेशीका लागि भने बुद्धले पोखराबाट भैरहवा सम्म ५४ अमेरिकी डलरमा झारेको छ ।

भरतपुरका लागि ५३ अमेरिकी डलर पर्ने बराले बताए । विदेशीका लागि यो शुल्क यसअघि भैरहवासम्म ९८ र भरतपुरसम्म ९४ अमेरिकी डलर थियो । उनले यात्रुको चाप बढ्दा केही महंगो र यात्रु कम भएको अवस्थामा सस्तोमा टिकट पाइने बताए ।