बुढीगण्डकी आयोजना बनाउन २० अर्बको कम्पनी तयार

पोखरा, भदौ १८ ।
सरकारले बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड कम्पनी बनाएको छ । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अगाडि बढाउन २० अर्व रुपैयाँ चुक्तापुँजी भएको कम्पनी खडा गरिएको हो ।

ऊर्जा मन्त्रालयले शुक्रबार कम्पनी रजिष्टर्डको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । कम्पनीको सम्पर्क कार्यालय आवश्यकता अनुसार अन्य जिल्लामा पनि रहन सक्ने मन्त्रालयले जनाएको छ ।

गोरखा र धादिङ जिल्लाको सीमा नदीको रुपमा रहेको बुढीगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्ने आयोजना संचालन गर्ने कार्यका लागि स्थापना गरिएको यस कम्पनीको दर्जनौ उद्देश्य राखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजना कम्पनी मोडलमा निर्माण गर्नका लागि सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेत प्रबन्ध गरेको थियो ।

सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो । सरकारले हालसम्म आयोजना प्रभावितका लागि मात्रै ४० अर्ब रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ ।