बिरेठाँटीदेखि मुक्तिनाथ केवुलकार चल्ने (पढ्नुस बिस्तृतमा)

काठमाडौं, वैशाख १८ ।

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ र्पुयाउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा बिदेशी भन्दा नेपाली यात्रुलाईसहुलियत दिने कम्पनीको तयारी छ । किनकि भारतीय नागरिकलाई ६ हजार भारु र अन्य देशका नागरिकलाई १ सय अमेरीकन डलर भाडा लिने कम्पनीको योजना छ । नेपालीलाई भने ६ हजार नेरु भाडा लिइने छ ।

यो केबलकारबाट वार्षिक ३६ लाख यात्रुलाई सेवा दिन सक्ने मुक्तिनाथ दर्शन प्रालि बताउँछ । पहिलो वर्ष ८ लाख यात्रु केबलकार प्रयोग गरेर मुक्तिनाथ जाने कम्पनीको दाबी छ । मुक्तिनाथ दर्शन प्रालिले हालैमात्र सरकारबाट विस्तृत अध्ययन गर्ने अनुमति पाएको छ । लगानी बोर्डको ३० औं बैठकले मुक्तिनाथ दर्शन प्रालीलाई यसको विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेको हो ।

कुल लागत ३४ अर्ब, पब्लिकलाई सेयर २ अर्ब २९ करोड

यो केबलकार सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्ने कम्पनीको योजना छ । यो केबुल कार निर्माणका लागि ३४ अर्ब बराबरको खर्च लाग्ने आँकलन गरिएको छ । यसको ८५ प्रतिशत अर्थात २८ अर्ब ९० करोड लगानी ऋणबाट जुटाउने कम्पनीको तयारी छ । बाँकी १५ प्रतिशत अर्थात ५ अर्ब १० करोड बराबरको रकममध्ये २ अर्ब ८० करोड लगानी प्रवद्र्धकबाट जुटाउने मुक्तिनाथ दर्शन प्रालिले जानकारी दिएको छ ।

लगानीमध्ये २ अर्ब २९ करोड भने सर्वसाधारणलाई सेयर जारी गरेर जुटाउने कम्पनीको योजना छ । यो केबुलबार यात्रामा तीन वटा उद्देश्यहरु लिइएको कम्पनीले सरकारलाई पेश गरेको प्रस्तावमा उल्लेख छ । ती उद्देश्यहरु हुन्– पर्यटन, तीर्थयात्रा र अन्य यात्रुहरुका लागि यातायातको साधन । यो केबुलकार विभिन्न खण्डहरुमा विभाजन गरिएकाले स्थानीय बासीहरुले विभिन्न ठाउँमा आवत–जावत गर्ने यातायातको साधनका रुपमा पनि यसलाई प्रयोग गर्नेछन् ।

मार्फामा ट्रान्जिट, ६ वटा खण्ड

६ वटा खण्डमा विभाजन गरेर यसको निर्माण गर्ने कम्पनीको योजना छ । वीरेठाँटीदेखि घोरेपानीको भाग १३.३ किलोमिटर लामो हुनेछ । घोरेपानीदेखि तातोपानीको खण्ड १२.७ किलोमिटर र तातोपानी देखि लेतेसम्मको भाग १६.४ किलोमिटर लामो हुनेछ । एकैपटक मुक्तिनाथसम्म पुग्न असहज हुने भन्दै कम्पनीले बीचमा यात्रुलाई ओरालेर अर्को डिब्बाबाट लाने योजना बनाएको छ । लेते देखि जोमसोमको बीचमा मार्फामा यस्तो ट्रान्जिट राखिनेछ । लेतेदेखि जोमसोमसम्मको यात्रा २३.९ किमी लामो हुनेछ । जोमसोमदेखि कागबेनीसम्मको खण्ड ८.२ किमी र कागबेनीबाट मुक्तिनाथसम्मको खण्ड ९ किलोमिटर लामो हुनेछ । कम्पनीका अनुसार केबुलकार प्रतिसेकेण्ड २ मीटरदेखि १२ मिटरका दरले चल्ने छ । तर, यो गति हावाको गतिमा निर्भर रहने छ ।

यसअनुसार मुक्तिनाथको केबुलकार यात्रा २ घण्टा १० मीनेटदेखि अढाइ घण्टासम्मको हुनेछ । वीचका स्टेसनहरुमा मानिस उत्रँदै र चढ्दै गर्ने क्रममा केही बेर रोकिँदा र मार्फाको ट्राञ्जिटसमेत जोड्दा ३ घण्टासम्म पनि लाग्न सक्छ । सरकारले अध्ययनका लागि स्वीकृति दिइसकेकाले अब डीपीआर तयार पार्न २ वर्ष लाग्ने कम्पनीले जनाएको छ । डीपीआर तयार भएको तीन वर्ष्भित्र केवलबार चल्ने दाबी कम्पनीको छ । यस हिसाबले आगामी ५ देखि ६ वर्ष्भित्र यो रुटमा केवलकार चल्न सक्छ । यो प्रोजेक्ट सफल भएमा यो नेपालको सबैभन्दा लामो दुरीको केवलकार हुनेछ । स्रोत ः अनलाईनखबर