बिदेशीलाई बिहे गर्ने थलो बन्दै पोखरा

पोखरा, असोज १८ ।
पछिल्लो समय बिदेशीहरु नेपाली संस्कार अनुसार नेपालमै आएर विहे गर्ने चलन बढेको छ । केही बर्षयता विश्वका विभिन्न देशबाट विहे गर्नकै लागि पोखरा आउने जोडी भेटिन थालेका छन् । अघिल्लो बर्ष चीनको एक जोडीले पोखराबाट नेपाली संस्कार अनुसार विहे गरे ।
अहिले पनि स्पेनका एक जोडी विहे गर्न पोखरा आए । स्पेनका २४ बर्षीय राकेल थापाता आन्द्रेउ र २८ बर्षीया गइथका आगुईलार गारथियाले नेपाली परम्परा अनुसार पोखराको फेवाताल स्थित तालबाराही मन्दिर र विश्व शान्ति स्तुपामा पुजा आजा गरी विवाह गरेका छन् ।
नेपालमा भूकम्प गएपछि स्पेनबाट स्वयम सेवकको रुपमा दुई बर्ष अघि काठमाण्डौं आएको यो जोडिले आफ्ना आफन्तको साथमा तामझामका साथ हालै पोखरामा विवाह गरेको पोखराका पर्यटन व्यवसायी असोक लामाले बताए ।
लामाको पहलमा पोखरा आएको जोडिले हिन्दुधर्म र बौद्धधर्मको विधि अनुसार नेपालीहरुको महान पर्व विजया दशमीमा विबाह गरेका हुन् । राकेलको नेपाली नाम विष्णु र गइथकाले लक्ष्मी राखेका थिए । नेपाल र नेपाली परम्परा मन परेको र आफुहरुको प्रेम पनि नेपालमै भएकोले नेपालमै विवाह गरेको राकेलले बताए ।