बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC को सातौ अन्तराष्ट्रिय सम्मेलन पोखरामा हुने

पोखरा, कार्तिक २० ।

लाभदायक लघुधारक खेतीका लागि पर्यावरण अनुकुल पशु उत्पादन भन्ने मुल नाराका साथ नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी कार्तिक २२ देखी २५ सम्म पोखरामा बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC  को सातौ अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी SAADC को सातौ अन्तराष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । सातौं अन्तराष्ट्रिय सम्मेलनमा मुख्य गरी साना र मध्यम स्तरका कृषकहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु पोषण र घाँसे बालीहरु, चरन व्यवस्थापन, पशु प्रजनन, मत्स्यपालन, हिमाली क्षेत्रमा पालिने याकको संरक्षण र व्यवस्थापन लगायतका क्षेत्रहरुमा भएमा अनुसन्धानहरुको प्रस्तुति तथा छलफल गरिनेछ । त्यसैगरी जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानहरुलाई पारेको असर र त्यसलाई न्यूनीकरण गर्न गरिने उपायहरुमाथि समेत सम्मेलनमा छलफल गरिने छ ।

सम्मेलनमा ५ महादेशका २४ देशहरुबाट करिव ४ सय जना पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा संलग्न वैज्ञानिकहरु, प्राध्यापन पेशामा संलग्न जनशक्तिहरु, अनुसन्धानकर्ताहरु, प्रसार कार्यमा संलग्न जनशक्तिहरु, उद्यमी, कृषकहरु तथा विद्यार्थीहरुले सहभागीता जनाउनेछन ।

हालसम्म सहभागीता सुनिश्चित भएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन,थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया, भियतनाम, सिंगापुर, जापान, ताइवान, ओमान, इजरायल, दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेन रहेका छन् । कुल सहभागी संख्याको करिव ५० प्रतिशत अन्तराष्ट्रिय सहभागीहरु हुने अनुमान गरिएको छ।

 

SAADC को यस अघिका सम्मेलनहरु चीन, मलेसिया, थाइल्याण्ड र इण्डोनेसियामा सम्पन्न भएका थिए। यस यस सम्मेलनको मुख्य सहआयोजकहरुको रुपमा नेपाल सरकार,  पशु सेवा विभाग र प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश रहेका छन्। त्यसैगरी अन्य सहआयोजकहरुमा हिफर इन्टरनेशनल नेपाल, इसिमोड, नेपाल पशु चिकित्सा परिषद्, नेपाल एनिमल साइन्स एशोसिएसन, नेपाल मत्स्य समिति, युनिभर्सिटी पुत्रा मलेशिया, सुरानारी युनिभर्सि्टि अफ टेक्नोलोजी, थाइल्याण्ड रहेका छन् भने यस सम्मेलनको प्रवर्धकको रुपमा नेपाल पर्यटन वोर्ड, प्रदेश कार्यालय, पोखरा रहेको छ । सम्मेलनको उद्‌घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन ।