बार्ता नमिलेपछि गण्डकी मेडिकलका बिद्यार्थी भन्छन्–‘माग सुनुवाई नभए सर्बोच्च जान्छौं’

पोखरा, फागुन ३ ।
मनपरि शुल्क असुलेको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमा उत्रेपछि दुईसातादेखि पोखराको गण्डकी मेडिकल कलेज ठप्प छ । कलेजले प्रत्येक विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी रकम विना पुर्जी असुलेको आरोप लगाउँदै मनपरि लिईएको शुल्क फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । ४ बुँदे मागपत्रमध्ये मुख्य माग बढी रकम फिर्ता गर्नुपर्ने बुँदामा कलेज प्रशासनले चासो नदिएपछि पटक पटक बसेको बार्ता समेत सफल भएको छैन ।

माघ १६ गतेदेखि बन्द कलेज अहिलेसम्म पनि यथावत छ । त्यसमाथी माग सुनुवाई नगरेको आरोपमा विद्यार्थीले अस्पतालको अ‍ेपिडि सेवा समेत बन्द गरिदिए । दुई साताको बीचमा कलेज र विद्यार्थीबीच २ पटक औपचारिक र २ पटक अनौपचारिक गरि ४ वटा बैठक बसेको छ । तर कुनैपनि बैठक उपलब्धी मुलक हुन सकेन ।

मंगलबार पनि कलेज प्रशासनले कास्कीको ढिकुरपोखरी स्थित एक रेष्टुरेण्टमाा केही विद्यार्थी लगेर छलफल ग¥यो । तर त्यो बैठकले पनि नतिजा दिन सकेन र विद्यार्थीको आन्दोलन यथावत छ । विद्यार्थीहरु ४ दिनअघि देखि रिले अनसन बसिरहेका छन् । कलेज प्रशासनले मुख्य एजेण्डालाई मोडेर बार्ताको नाममा विद्यार्थी आन्दोलन दवाउन लागि परेको विद्यार्थी प्रविन गौतम बताउँछन् । ‘कलेजसँग धेरै पटक बार्ता भयो । तर हाम्रो मागको बिषयमा कहिल्यै पनि गम्भीर भएन, उनले भने–बढी लिईएको रकम फिर्ता नभएसम्म हाम्रो आन्दोलन यथावत छ । सुनुवाई नभए सर्बोच्चसम्म पुग्छौं ।’ माग पूरा नभएसम्म परीक्षा समेत नदिने उनीहरुको अडान छ ।

फागुन १२ गतेदेखि एमविविएस तेश्रो बर्षको परीक्षा हुँदैछ । उनीहरुको परीक्षाको फर्म भर्ने मिति २७ गते नै सकिइसक्यो । दोब्बर शुल्कमा फागुन ५ गतेसम्म फर्म भर्न पाइने भएपनि विद्यार्थीहरु माग अघि सारेर आन्दोलन छोडेका छैनन् । ‘कलेजले मनपरि नगरेको भए यो अवस्था आउने नै थिएन । आन्दोलन गरिसकेपछि माग पूरा नभई फिर्ता हुँदैन, गौतमले भने–बरु हामी परीक्षा दिदैनौं । अन्तिम टुंगो लगाएरै छोड्छौं ।’

विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ता गर्नुपर्ने, नीति नियम अक्षरंश पालना गर्नुपर्ने, विद्यार्थीले तिरेको रकमको विल, भौचर र रसिल उपलब्ध गराउनुपर्ने तथा कलेज भित्रका विकृति, विसंगती अन्त्य हुनुपर्ने माग राखेका छन् । ‘सरकारले तोकेको रकम हो भने हामी तिर्न तयार छौं । अतिरिक्त शुल्क हो भने स्पष्ट खुलाएर पैसा लिएपछि विल दिनुपर्छ, अर्की विद्यार्थी रवीना मिश्र भन्छिन्–विना विल लाखौं रुपैयाँ तिर्नुपरेको छ । यो सीधै भ्रष्टाचार भएन र ?’ विद्यार्थीहरुले परीक्षा रोक्न त्रिभुवन विश्वविद्यालयलाई लिखित आग्रह गरेका छन् । तर कुनै निर्णय आएको छैन ।

कलेजका प्रिन्सिपल रवीन्द्र श्रेष्ठले देशभरीकै समस्या भएकोले गण्डकी मेडिकल कलेजले मात्रै समस्या समाधान गर्न नसक्ने बताए । ‘कतिपय मागहरु सही होला । तर हाम्रो मात्रै निर्णयले सुल्झिने हैन । राष्ट्रिय स्तरको समस्या हो । टियूले नै अनुगमन गर्ने कुरा आएपछि हट्ताल रोके हुन्थ्यो, उनले भने–विद्यार्थीको परीक्षा आईरहेको छ । यसरी हट्ताल गरिरहने हो भने नतिजामा समस्या आउन सक्छ ।’ उनले परीक्षा फाराम भर्न आग्रह गरेका छन् । बार्ता चलिरहेकोले बार्ताबाटै समस्या समाधान हुने श्रेष्ठ बताउँछन् ।

कलेज प्रशासनले विद्यार्थीहरुले अस्पतालको इमर्जेन्सी सेवा समेत बन्द गरेको आरोप लगाउँदै विज्ञप्ती जारी गरेपछि विद्यार्थीहरु झनै आक्रोशित भएका छन् । इमरजेन्सी सेवा बन्द नगरेको भन्दै उनीहरुले हुँदै नभएको फण्डा विज्ञप्तीबाट गरिएको गुनासो गरे । ‘हामीले कलेज र अस्पतालको ओपिडि मात्रै बन्द गरेका हौं । इमरजेन्सी नियमित चलिरहेको छ, उनीहरु भन्छन्–इमरजेन्सी बन्द गरेको भनेर हामीलाई आरोप लगाईएछ । यसप्रती हाम्रो गम्भीर आपत्ति छ ।’