बाम गठबन्धनको ताङतिङमा चुनावी कार्यक्रम

पोखरा, कार्तिक २३ ।
बाम गठबन्धनले चुनावी अभियानलाई तिब्र बनाएको छ । प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर १ का साझा उम्मेदवार खगराज अधिकारी र प्रदेशसभा तर्फ ख का उम्मेदवार मनबहादुर गुरुङले घरदैलोलाई तिब्र बनाएका हुन् । एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु सहित उनीहरुले घरदैलो गरेका छन् । बुधबार सिक्लेस, पार्चेमा घरदैलो गरेका उनीहरुले बिहीबार मादी गाउँपालिकाको ताङतिङमा घरदैलो तथा चुनावी सभा गरे ।
चुनावी अभियानका क्रममा ताङतिङ पुगेका उम्मेदवारहरुलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । बाम गठबन्धनले जितेमा पाँच वर्षे सरकार बनाउने र गाउँगाउँको विकास गर्ने उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय महिला नेतृ कल्पना गुरुङले ताङतिङ बासीले सूर्यमा मतदान गरी गठबन्धन उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरिन् । ‘गठबन्धनले जितेमा ताङतिङको विकास हुने हामीले विस्वास गरेका छौं,’ उनले भनिन् ।
प्रतिनिधि सभाका उम्मेदवार खगराज अधिकारीले बाम गठबन्धनको संयुक्त सरकार बनाउने मौका दिन आग्रह गरे । चुनाव जितेपछि पाँच वर्षसम्म जनताको सेवा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘अहिले हामीले काम गर्ने अवसर दिन भोट मागेका छौं,’ उनले भने, ‘अर्को पटक हाम्रो कामले नै जनताले मत दिनेछन् ।’ कसैलाई पक्षपात नगरी आफ्नो क्षेत्रको विकास गर्ने उनले बताए ।
प्रदेशसभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफूलाई विजयी बनाएर अबसर दिएमा आफ्ना मतदाता प्रति सधैं उत्तरदायी बन्ने प्रतिबद्धता व्यक्त गरे । ‘म सधैं यही ठाउँको विकासमा सक्रिय छु,’ उनले भने, ‘अत्याधिक मतले विजयी गराई काम गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङले बाम गठबन्धनको जित सुनिश्चित भइसकेको बताउँदै आफ्नो क्षेत्रको विकासमा सक्रिय हुन उम्मेदवारहरुलाई आग्रह गरे । बठबन्धन र उम्मेदवारहरुका प्रतिबद्धता पुरा गराउन आफूहरुले सघाउनले उनले बताए ।
एमाले प्रदेश नम्बर ४ संगठन कमिटिका सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक श्रीनाथ बरालले मादी गाउँपालिकाको सिक्लेस, ताङतिङ लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा जलविद्युतको प्रवद्र्धन गर्न बाम उम्मेदवारको जीत आवश्यक रहेको धारणा राखे । ‘यस क्षेत्रको विकासका लागि बाम उम्मेदवार विजयी बन्न आवश्यक छ,’ उनले भने, ‘राष्ट्रलाई समृद्ध बताउने अभियानमा हामी छौं ।’
मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ ‘श्याम’ले बाम गठबन्धनका दुवै दल गरिब तथा उत्पीडित जनताको पक्षमा लड्ने भएकाले बाम उम्मेदवार अधिकारी र गुरुङलाई जिताउन आग्रह गरे । ‘सबैको हित र देशको विकास गर्न बाम उम्मेदवारले जित्न आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता लालबहादुर गुरुङले देशको समृद्धिको लक्ष्यसहित एमाले र माओवादी एक भएको बताउँदै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । ‘देश र जनताको उन्नतिका लागि बाम गठबन्धनको जित आवश्यक छ,’ उनले भने, ‘नयाँ नेपाल निर्माणका लागि बाम गठबन्धनले अत्याधिक सिट जित्नुपर्छ ।’