बाम एकता काँग्रेस विरुद्ध होईन–प्रचण्ड

काठमाडौं, असोज १७ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन पार्टीबीचको सहकार्य कांग्रेस विरूद्ध नभएको बताएका छन् । एमाले, माओवादी र नयाँ शक्तिबीच सहकार्यको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले सहकार्य काँग्रेस विरोधनी नभएको स्पष्ट पारे । उनले जनताको पक्षमा बाम शक्ति एकजुट भएको भन्दै निर्वाचन प्रयोजनका लागि र कम्युनिस्ट केन्द्र निर्माणका लागि एकता भएको बताए ।
उनले सत्ता गठबन्धनमा भने तत्काल केही फेरबदल नहुने उल्लेख गरे । निरन्तरतामा क्रम भंगता विकासको नियम भएको भन्दै उनले तीन पार्टीको सहमतिले एउटै कम्युनिस्ट पार्टी निर्माण गरी समृद्धितर्फ मुलुकलाई लाने दाबी गरे । शान्तिप्रक्रिया देखि नै कम्युनिस्ट केन्द्र निर्माणको पहल भएपनि एक दशकपछि चाहना पूरा भएकाले आफू गौरवान्वित भएको उनले बताए ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तीन पार्टीबीच मात्र नभएर सबै लोकतान्त्रिक र परिवर्तनशील शक्तिसँग सहकार्य हुने प्रचण्डको भनाइ छ । ’सबै शक्तिसँग तालमेल गरेर बचेको सिटमा एमाले र माओवादीबीच ६०–४० मा भागवण्डा हुन्छ,’ प्रचण्डले भने ।