बाबूको स्मृतिमा अक्सिजन प्लाण्टलाई सहयोग

पोखरा, जेठ २५ ।
आफ्ना बाबूको स्मृतिमा युवा उद्यमी अन्जु गुरुङले अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन् । उनका बाबू गंगाबहादुर गुरुङको निधन भएको ४९ दिनको पुण्यतिथिमा गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

बतास फाउण्डेसनको संयोजनमा पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उच्च गतिको अक्सिजन उत्पादन गर्ने प्लाण्ट जडान हुँदै छ । स्थानीय स्तरबाटै रकम उठाएर स्थापना गर्न लागिएको प्लाण्टमा आँगनकी सन्चालक समेत रहेकी गुरुङले सहयोग हस्तान्तरण गरेकी छिन् ।

‘अहिले सबै वर्गका मान्छेहरु कोभिडबाट निधन भैरहेका छन् । विरामीको उपचार गर्न धन भन्दा अक्सिजन चाहिएको छ,’ उनले भनिन्, ‘यो सहयोगले थोरै भएपनि योगदान पुग्ला भन्ने विश्वास छ । अक्सिजन नपाएर कोही विरामी मर्न नपरोस् ।’

साविक मौजा गाविस काफल डाँडाका गुरुङको गत बैशाख ७ गते ६१ वर्षको उमेरमा निधन भएको थियो ।