बाबुराम सरकारमा जाने कि उपेन्द्रले सरकार छोड्ने ?

काठमाण्डौं, बैशाख २३ ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकीकरणले अहिले एउटा बहस सिर्जना गरेको छ–अव डा. बाबुराम भट्टराई सरकारमा जाने कि उपेन्द्र यादवले सरकार छोड्ने । सरकारको समर्थन सहित मन्त्रालयकै जिम्मेवारीमा रहेको संघीय फोरम र सरकारको पूर्ण विपक्षमा रहेको नयाँ शक्तिबीच एकीकरण भएपछि यो बहस सान्दर्भिक पनि हो ।

तर सरकार छोड्ने वा नछोड्ने भन्ने बिषयमा दुवै नेता स्पष्ट भएका छैनन् । पार्टी एकीकरण समारोहमा डा. बाबुराम भट्टराईले सडक, सदन र सरकारबाटै आन्दोलन गर्ने चेतावनी दिएका कारण सरकार नछोड्ने संकेत बुझिन्छ । यद्यपी यसको आधिकारिकता भने बाहिरिएको छैन ।

नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले सरकारलाई संघर्षको एउटा मोर्चाका रुपमा अर्थ्याएका छन् । संघीय समाजवादी पार्टीसँग एकता हुनुअघि नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमले सरकार छाड्नुपर्ने सर्त राखेको थियो । त्यसबारे दुई पार्टीबीच भएको स्पष्ट सहमतिलाई उनले खुलाएनन् । तर, कुनै दुविधा नभएको बताए ।

’सरकारमा सहभागिताबारे कुनै दुविधा छैन । हामीले सहमति गरिसकेका छौं’, एकीकरण समारोहमा सम्बोधन गर्दै डा भट्टराईले भने, ’जनताको अधिकार कुनै पनि हालतमा छाड्नेवाला छैनौं । हाम्रा निम्ति सडक, सदन र सरकार संघर्षका मोर्चा हुन् । हाम्रा कोही पनि साथीहरु सुविधा भोग गर्नका निम्ति, भ्रष्टाचार गर्नका निम्ति सरकारमा जानुहुन्न । जान दिन पनि सक्दैनौं ।’

उनले आवश्यक परे संघर्षको हतियारको रुपमा कहिलेकाहीँ सरकारमा जान पनि सक्ने बताए । उनले पूर्ण रुपले संविधान संशोधन भएर लोकतन्त्रका बाँकी मुद्दाहरु सम्बोधन नभएसम्म देशका सबै जनताले सुख र समृद्धिको अनुभूति गर्न नपाउने बताए । ’त्यतिबेला सडकको संघर्षको बाटो हाम्रो मुख्य हुन्छ । यसमा दुविधा मान्नुपर्दैन । सडक हाम्रो पहिलो मोर्चा हुन्छ । सदन हाम्रो दोस्रो मोर्चा हुन्छ । र, कहिलेकाहीँ आवश्यकता पर्दा सरकारको मोर्चा पनि हुन सक्छ’, उनले भने ।

सरकारको मोर्चा भरपर्दो र दीगो भने नभएको उनले प्रष्ट पारे । ’यदि संविधान संशोधन गर्नका निम्ति सरकारले हिजो एक प्रकारको आश्वासन दिएको छ, त्यो पूरा गर्दैन भने कुनै पनि बेला हामीले आवश्यक निर्णय गर्नेछौं । जनतामाथि कुनै पनि हालतमा विश्वासघात गर्ने छैन’, उनले भने ।