बागी उम्मेदवार नरेशशंकर पालिखे काँग्रेसबाट निष्कासित

पोखरा, कार्तिक २३ ।
काँग्रेसका बागी उम्मेदवार नरेशशंकर पालिखे पार्टीबाट निष्कासित भएका छन् । पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी गम्भिर संकटमा रहेको बेलामा अनुशासनभन्दा बाहिर रहेर पार्टी विरुद्ध नै बागी उम्मेदवारी दिने पालिखेलाई सहयोग नगर्न उसले आफ्ना सम्पूर्ण भातृ संघसंस्थाहरुलाई निर्देशन समेत दिएको छ ।
नेपाली काँग्रेस कास्कीका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा काँग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार उनलाई पार्टीबाट निष्कासन गरिएको बताईएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बेला देखि नै काँग्रेसको महाधिवेसन प्रतिनीधि, क्षेत्रीय प्रतिनिधी, क्रियाशिल सदस्य र साधारण सदस्य समेत नरहेको जानकारी गराईन्छ ।’
पालिखेले कास्की क्षेत्र नम्बर २ (ख) बाट बागी उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा काँग्रेसबाट आधिकारिक उम्मेदवारको रुपमा बिन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । पार्टीले आधिकारिक उम्मेदवारकै पक्षमा माहौल सृजना गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
कास्की काँग्रेसले वामगठबन्धन गरि कम्युनिष्टहरु एकतन्त्रीय शासन प्रणालीमा जान खोजिरहेको र देशमा फेरि अर्को द्वन्द निम्त्याउन खोजिरहेको स्थितीमा पालना नगर्ने व्यक्तिलाई काँग्रेसले स्किार्न नसक्ने समेत बताएको छ ।
नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता क्रियाकलापबाट हतोत्साहि नभई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउन संगठित भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।